रुखले च्यापिएर एक महिलाको निधन

टीकापुर। कैलालीमा हावाहुरीका कारण रुख ढल्दा एक जना महिलाको मृत्यु भएको छ।

गएराति वर्षासँगै आएको हावाहुरीले रुख ढल्दा रुखबाट च्यापिएर टीकापुर नगरपालिका १ एकतानगर शिविरकी ४० वर्षीया देउकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक भरतबहादुर चौधरीले जानकारी दिए।

हावाहुरीले कच्ची घरमाथि रुख ढल्दा च्यापिएर कामीको मृत्यु भएको हो।

यस्तै हावाहुरीले कैलारी गाउँपालिका ५ का अंकित बोहराको घरको छाना उडाइदिएको छ।

त्यसबाट अन्दाजी ७० हजार बराबरको क्षति भएको छ। प्रहरी नायव निरीक्षक चौधरीका अनुसार हावाहुरीले जिल्लाका विभिन्न स्थानका घर, गोठ तथा सडकमा रहेका विद्युतका खम्बामा क्षति गरेको छ।