गजल : जनता मर्दा, कुखुरा मरेजत्तिको भएन !

० धर्मानन्द भट्ट

जसरी नुन–तिहुन बढेर, सयबाट हजारमा गयो
उसको पनि भाउ बढ्यो, जब सरकारमा गयो।

हिजो सङ्गै हिँडेको साथीले, साथी पनि मान्दैन,
चिन्न छोडेछ अचेल, जब राजनीतिको बजारमा गयो।

समाज बदल्छुँ भनेर हिँडेको, मान्छे नै बदलियो,
आफ्नो त जिन्दगी, यस्तै भनेर बेकारमा गयो।

सँघर्ष गर्नेहरू सँघर्ष गर्दै, बाँचिरहे जिन्दगीभर
हाम्रो जीवन अभाव संघर्ष र, हाहाकारमा गयो।

चप्पल पट्काउँदै चिउरा चपाउँदै हिडेको बिर्सेछ
जब साथीले चुनाव जितेर, सिंहदरबारमा गयो।

बिरामीले एम्बुलेन्स नपाएर, ट्याक्टरमै गुमायो ज्यान
उम्मेदवारी दिन ऊ, जहाजमा गयो कारमा गयो।

लुट्न सम्म लुट्यो आनन्दको मझधारमा गएर ऊ
नसक्ने बिचरा लखेटियो, छेउ किनारमा गयो।

तिम्रा लागि जनता मर्दा, कुखुरा मरेजत्तिको भएन,
मान्छे मरेको समाचार आयो, बस अखबारमा गयो।