गएको २४ घन्टामा कोरोनाबाट गयो २१४ जनाको ज्यान, पाँच हजार ५५ जना निको भए

काठमाडौं। गएको २४ घन्टामा देशभर कोरोना संक्रमणबाट २१४ जनाको ज्यान गएको छ।

स्वास्थ्य मन्त्रालयले बिहीबार दिउँसोसम्म सेनाले गरेको शवको आधारमा सो मृत्यु संख्या सार्वजनिक गरेको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ४६६ पुगेको छ।

पछिल्लो केही दिनयता कोरोना संक्रमितको मृत्यु हुने क्रम बढेको छ। मंगलबार एकै दिन २२५ जना र बुधबार १६८ जनाको मृत्यु भएको थियो। सोमबार १३९ जनाले ज्यान गुमाएका थिए।

२४ घन्टामा १९ हजार ४७४ पीसीआर र ७७१ एन्टिजेन परीक्षणमा आठ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म देशभर संक्रमितको संख्या चार लाख ३१ हजार १९१ जना पुगेको छ।

सक्रिय संक्रमितको संख्या एक लाख पाँच हजार २०७ पुगेको छ। त्यसमध्ये ९६ हजार ३७९ जना होम आइसोलेसनमा छन्। आठ हजार ८२८ जना संस्थागत आइसोलेसनमा छन्। त्यसमध्ये एक हजार ३८१ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा छन्।

२४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पाँच हजार ५५ पुगेको छ।