खेलकूदलाई दुई अर्ब ७४ करोड बजेट, निवृत्त खेलाडीलाई सहुलियतमा कर्जा

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकूद मन्त्रालयलाई दुई अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष ०७८–७९ को बजेट सार्वजनिक गर्दै युवा मन्त्रालयका लागि उक्त रकम विनियोजन गरेका हुन्।

यो रकम चालु आर्थिक वर्षका तुलनामा ३८ करोडले वृद्धि गरिएको हो। चालू आवमा मन्त्रालयलाई दुई अर्ब ३६ करोड बजेट विनियोजन गरिएको थियो।
बजेटमा सक्रिय खेलजीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियत दरको कर्जा उपलब्ध गराउने व्यवस्था समेत मिलाइएको छ।

बजेटले मोरङको वैजनाथपुर, काठमाडौँको मूलपानी, रुपन्देहीको भैरहवा, दाङको लमही, बाँकेको नेपालगञ्ज र कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट रंगशाला निर्माण गर्न आवश्यक बजेट छुट्याइएको अर्थमन्त्री पौडेलले बताए।

त्यसैगरी झापाको दमकमा बन्ने मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशाला आगामी दुई वर्षभित्र सञ्चालनमा आउने गरी निर्माण गरिने छ।

यसबाहेक सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ र जुम्लामा हाइअल्टिच्युड स्पोर्टस सेन्टर निर्माण गर्न आवश्यक रकम बजेटमा व्यवस्था गरिएको छ।
अन्तर्राष्ट्रियस्तरमा पदक हासिल गर्नसक्ने सम्भाव्य खेल पहिचान गरी प्रोत्साहन गरिने बजेटमा उल्लेख छ। त्यस्तै अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता वृद्धि गरिने जनाइएको छ।