गाउँमा न पाइन्छन् खेताला, त चल्छ अर्मपर्म

‘गर्न आउ है अर्म र पर्म
सबै विदेश कोही छैन गाउँघरमा
बर्खा लाग्यो..झ्याउँकिरी बास्न थाल्यो,
भ्यागुता करायो, हाम्रो भेट हरायो..’

यो वर्षको बर्खा पनि घरदैलोमै आयो। गाउँ छेवैको जङ्गलमा झ्याउँकिरी आवाजले साँझ परेको सङ्केत गर्छ। रातभरि भ्याकुताको ट्वार ट्वार तथा झ्याउँकीरीले समयको लय त समाते तर त्यही समयको लयमा चल्नुपर्ने किसानलाई भने गाउँ छोडेका युवाका कारण समस्यामा छ।

विष्णु खत्रीले केही वर्षअघि बजारमा ल्याएको यो गीतले नेपाली समाजको चित्रण गर्छ। कोरोना महामारीको पहिलो लहर चल्ने समयमा भरिभराउ भएका बागलुङका गाउँहरुले दोस्रो लहरको समयमा भने उत्साह भर्न पाएनन्।

पहिलो लहर चल्दा विदेशमा भएका युवा र देशकै ठूला शहर पसेकाहरू गाउँ फर्किएका थिए। गाउँमा छुट्टै खालको उत्साह थियो। गत वर्षको बर्षायाम सुरु हुनुपूर्व चलेको पहिलो लहरले गाउँघरमा बर्खे खेती गर्न सघायो। कारण गाउँमा युवाको जमात थियो।

गीतमा भनिए जस्तै अर्मपर्म चल्ने गाउँ अहिले खाली छन्। सबै युवा विदेश भएकाले गाउँमा खेताला, खेताली पाउनै मुस्किल छ। अर्मपर्म त एकादेशको कथा जस्तै हुन थाल्यो।

‘धान रोप्न खेतालाको जोहो एक महिना अघिबाटै गर्नुपर्छ, नत्र समयमा रोपाइँ गर्नै सकिँदैन’, जैमिनी नगरपालिका १० राङ्खानीका डिलप्रसाद पौडेल भन्छन्, ‘पर्मको कुरा छाडौँ, ज्यालामा काम गर्ने पनि पाउनै मुस्किल छ, युवा विदेश छन्, कसले गर्ने दुःख ?’

गाउँमा बसेका केही युवाका पनि आफ्नै व्यावसायिक फार्महरु छन्। कसैले कुखुरा पालेका छन्, कसैले गाईभैँसी, बाख्रा र तरकारी तथा नगदेबाली।

व्यावसायिक बनेका युवाले सिजनको खेतीका लागि समय दिननसक्ने किसानहरु बताउँछन्। ‘धान रोप्ने बेला भयो, खेतला पाइँदैनन्, पाएका पनि महँगा छन्’, बागलुङ नगरपालिका १४ नारायणस्थानका किसान केशव सुवेदी भन्छन्, ‘सिजनको खेती गर्न कठिन भइसक्यो।’

पछिल्लो समय आएको प्रविधिले किसानलाई सघाएको छ तर बर्खे खेतीको समयमा भने प्रविधिको गतिसँगै चल्ने जनशक्ति पनि चाहिन्छ। एक हल गोरुले दिनभर लगाएर रोप्ने खेत अहिले मिनीपावर ट्रिलर (यान्त्रिक हलो)ले केही घण्टामै हिलाउँछ।

सोहीअनुसार आली लगाउने, छेउकुना खन्ने र सम्याउने जनशक्ति चाहिने सुवेदी बताउँछन्। एक हल गोरुका पछि लाग्नेभन्दा दोब्बर खेताला मेसिनका पछि चाहिने उनको अनुभव छ।

काम गर्ने जनशक्तिकै अभावले उर्वर जमीन बाँझिन थालेको किसानको गुनासो छ। बागलुङमा जेठदेखि नै रोपाइँ सुरु भइसकेको छ। गलकोट र जैमिनी नगरपालिकाका खोला छेउमा सिँचाइको अभाव नभएका खेतमा धमाधम रोपाइँ भइरहेको छ।

रोपाइँ सुरु भए पनि जनशक्तिको भने चरम अभाव रहेको आदानप्रदान कृषि सहकारीका सचिव मित्र थापाले बताए।

यहाँ दिनभरि काम गर्दा पाउने ज्यालाभन्दा विदेशमा हुने दैनिक कमाइ धेरै हुने भएकाले युवाहरु गाउँ बस्न नमान्ने थापाको अनुभव छ।

सिजनमा मात्रै हुने खेतीपाती र खाली समयमा रोजगारी नहुँदा पनि युवाहरु गाउँमा अड्याउन नसकेको उनले सुनाए। ठूला फाँट र एकैपटक धान रोप्ने समयमा सबैभन्दा बढी किसानलाई समस्या हुने गरेको छ।