ओली नेतृत्वको मन्त्रिपरिषद्ले पायो पूर्णता, महन्थ पक्ष र पूर्व माओवादीबाट एक–एक जना मात्रै

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल विस्तार गरेका छन्।

विस्तारित मन्त्रिमण्डलमा नेकपा एमालेकातर्फबाट ६ मन्त्री र एक राज्यमन्त्री थपिएका छन् भने जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनेका छन्।

अब ओली नेतृत्वको मन्त्रिमण्डल २५ सदस्यीय भएको छ। उनको मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री, १८ मन्त्री र तीन राज्यमन्त्री भएका छन्।

आज नियुक्त भएका मन्त्रीमा गृह मन्त्रालयको जिम्मेवारीमा खगराज अधिकारी, वाणिज्य तथा आपूर्ति मन्त्रीमा राजकिशोर यादव, सञ्चार तथा प्रविधि मन्त्रीमा नैनकला थापा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन वानियाँ, वनमन्त्रीमा कैलालीका नादरमुनी राना, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गशेण पहाडी, कृषि मन्त्री ज्वालाकुमारी साह र आशा विक वन राज्यमन्त्री भएकी छिन्।

आज थपिएका मन्त्रीमा पूर्व माओवादी केन्द्र खेमाबाट ज्वालाकुमारी साह र जसपा महन्थ पक्षबाट राजकिशोर यादव मन्त्री बनेका हुन् ।

जसपाको ठाकुर पक्ष ७ जेठमा ८ मन्त्री र दुई राज्यमन्त्री भाग लिएर सरकारमा सामेल भएको थियो।