वर्तमान सरकार हत्या, हिंसा, बलात्कार, माफिया र भ्रष्टाचारमा संलग्नहरूको संरक्षकः महर

काठमाडौं । शान्तिपूर्ण विरोध प्रर्दशनबाट अत्तालिएको अधिनायकवादी सोचको सरकारले निहत्था नेबिसंघका नेता/कार्यकर्तामाथि आक्रमणमा उत्रिएको भन्दै नेविसंघले बिरोध जनाएको छ । शान्तिपूर्ण आन्दोलनमा उत्रिएका नेविसंघमाथि आक्रमण गरेर सरकारले विश्वसामु आफ्नो असली अधिनायकवादी चरित्र प्रर्दशन गरेको नेविसंघले विज्ञप्तिमार्फत जनाएको छ ।

नेविसंघले आइतबार राजधानीमा गरेको प्रदर्शनमा सुरक्षाकर्मीले गरेको दमनका कारण केही नेविसंघ कार्यकर्ता घाइते भएका छन् भने केहीलाई पक्राउ गरिएको छ ।

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरद्वारा जारी विज्ञप्तिमा ‘नेपाल कम्यूनिस्ट पार्टी नेतृत्वनको वर्तमान सरकार हत्या, हिंसा, बलात्कार, माफिया र भ्रष्टाचारमा संलग्नहरूको संरक्षक बनेको’ दाबी गरिएको छ ।नेविंघले जनताको प्रतिनिधिमूलक संस्था संसदभित्र कम्यूनिस्टतन्त्रको कालो छायाँ पर्न थालेको दावी विज्ञप्तिमा गरेको छ ।

‘संसदीय व्यवस्थामाथि धावा बोल्न थालेको केपी ओली नेतृत्वको सर्वसत्तावादउन्मूख कम्यूनिस्ट सरकार बिरुद्ध माइतीघरदेखि वानेश्वरसम्म आन्दोलन गर्दै जाँदा गरिएको प्रहरी दमनमा नेविसंघका महामन्त्री कपलेश्वर यादव, केन्द्रीय सदस्य कल्पना खड्का चन्द्र विकको टाउकोमा चोट लागि उपचारका लागि अस्पतालमा हुनुहुन्छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेसिंघका केन्द्रीय उपाध्यक्ष पवन कुमार यादव, सहमहामन्त्री अम्वीका चलाउने, प्रेम शाही, पुजा फुयाल, सन्जिव ढकाललगायत १५ जना नेता कार्यकर्तालाई प्रहरीले पूर्वाग्रही तरिकाले थुनामा राखेको छ, यो घटनालाई नेविसंघले गम्भिर रुपमा लिएको छ ।’

अध्यक्ष महरद्वारा जारी विज्ञप्तिमा घाइतेको स्वास्थ्य लाभको कामना गर्दै थुनामा राखिएका नेताहरुलाई चार घन्टाभित्र रिहाई नगरे देशव्यापी रुपमा आन्दोलनको चेतावनी दिइएको छ ।

उता हालै नेविसंघको केन्द्रीय उपाध्यक्षबाट राजीनामा दिएका पुष्पकुमार शाहीले शान्तिपूर्ण आन्दोलनमा कम्युनिस्ट सरकारले गरेको दमनको निन्दा गरेका छन् । उृनले दमनकारीमाथि कडा कारवाहीको माग गर्दै सरकारको अधिनायकवादी शैलीको निन्दा गरेका छन् ।