मलेसियामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या फेरि उच्च

एजेन्सी। मलेसियामा कोरोनाभाइरसका कारण दैनिक मृत्यु हुनेहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ।

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा मलेसियामा १३८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ। योसँगै मलेसियामा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या ६ हजार ८६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहले एक दिनमा १२ हजार ५२८ नयाँ सङ्क्रमित थपिएको पनि जानकारी दिए। मलेसियामा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या भने नौ लाख पाँच हजार ८५१ पुगेको उनले बताए।

उनका अनुसार मलेसियामा एक लाख १९ हजार ८१४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन्। तीमध्ये केही गम्भीर अवस्थामा छन्।