देशकै पुरानो चन्द्रनहर भत्कियो

राजविराज। अविरल वर्षाका कारण देशकै पुरानो चन्द्रनहर भत्किएको छ।

अमहा र टेङ्ग्रालसहितका खोलामा आएको बाढीले सप्तकोशी नगरपालिका ४ स्थित बलारदहका दुई ठाउँका नहरमा क्षति पु¥याएको छ।

नगरप्रमुख उत्तम गौतमले सो क्षेत्रका ५० मिटरसम्म नहर भत्किएको जानकारी दिए। उनका अनुसार नहर भत्किएपछि सप्तकोसी १, २, ४ र ११ वडाका करिव ३०० घरसमेत डुबानमा परेको छ। ती घरमा तीन फिटसम्म पानी जमेको बताइएको छ।

यस्तै जिता नदीको बाढीले तिलाठी– कोइलाडी गाउँपालिका–७ मन्सापुर र वडा नं ५ बरसाइनका केही घर डुवानमा परेका छन्। तिलाठी कोइलाडी –७ को मन्सापुर र वडा नं– ५ को बरसाइनका करीब २०० भन्दा बढी घर डुबेको गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले जानकारी दिए।

चन्द्रनहरमा क्षमता भन्दा बढी पानी प्रवाह भएकाले महादेवा गाउँपालिका ४ मनियार प्रसाही क्षेत्र पनि जोखिममा परेको जनाइएको छ।