वडा कार्यालय निर्माण सम्पन्न

मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिकाको दुईवटा वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको छ । मनहरि–२ र ५ को वडा कार्यालय भवन निर्माणको काम सकिएको हो ।

ठेक्कामार्फत निर्माण भएको साढे दुई तलाको वडा कार्यालय भवन निर्माण सकिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । अरु चारवटा वडा कार्यालयका भवन निर्माण जारी छन् ।

मनहरिका वडा नं १, ६, ७ र ९ को वडा कार्यालयको भवन निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । आगामी कात्तिकसम्ममा सबै वडा कार्यालय भाडाको घरबाट आफ्नै सुविधासम्पन्न कार्यालयमा सरिसक्ने अध्यक्ष उप्रेतीले बताउनुभयो ।

पहिले साविकको मनहरि र हाँडीखोला गाविसका भवनमा दुईवटा वडा कार्यालय रहे पनि अरु छ वटाका लागि समस्या भएको थियो । कार्यालय भवन नभएका वडा कार्यालय ठेक्कामार्फत निर्माण भएको हो । प्रत्येक वडा कार्यालयमा सातवटा कोठा तथा वडा सचिवका लागि आवास निर्माण गरिएको छ ।