हवाई उडानले पर्यटकीय गन्तव्य जोड्यो

काठमाडौं । देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत जोडिएका हुन् । भरतपुर–भैरहवा उडान शुरु भएसँगै चार गन्तव्य जोडिएका हुन् ।

बुद्ध एयरले गत आइतबारदेखि भरतपुर–भैरहवा उडान थालेको हो । बुद्ध एयरलाइन्स भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार भरतपुर–काठमाडौँ दैनिक नौ वटा उडान हुँदै आएको छ । भरतपुर–पोखरा दैनिक एउटा र भरतपुर–भैरहवा हप्ताको तीन उडान भर्न थालिएको छ ।

आइतबार, बुधबार र शुक्रबार उडान थालिएको उहाँले जानकारी दिए । बस्नेतले भने, “पर्यटकीय गन्तव्यसँगै उपचारका लागि भरतपुर आउन सहज भएको छ ।” योसँगै नारायणगढ–बुटवल सडक विस्तार भइरहेकाले यात्रुलाई सहज भएको उनको दावी छ ।

क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे भारतीय पर्यटक नेपाल आउन भैरहवा–भरतपुर उडान प्रभावकारी हुने बताउँछन् । देशका चार प्रमुख पर्यटकीय गन्तव्य उडानमार्फत जोडिँदै गर्दा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनको दावी छ ।

लुम्बिनीमा ठूलो संख्यामा पर्यटक आएर त्यहीँबाट भारततर्फ फर्कने गरेको भन्दै उनले ती पर्यटकलाई चितवनसहितका गन्तव्यमा ल्याउन उडानको भूमिका महत्वपूर्ण हुने जनाउँछन् । सडकको यात्रा गर्नु नपरेपछि छिट्टै धेरै ठाउँ घुम्न सकिने उनले भनाइ छ ।

पर्यटनविद् डा विश्व सुवेदीले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेकाले त्यससँगको हवाई उडान चितवनका लागि निकै प्रभावकारी हुने बताए । विभिन्न देशसँग उडानको सम्झौता भइसकेको भन्दै उनले यहाँका लागि छिट्टै अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा हुने विश्वास व्यक्त गर्नुभयो । विश्वमा एक अर्बभन्दा बढी बौद्ध धर्मावालम्बी भएको भन्दै उनले उनीहरुको पहिलो गन्तव्य लुम्बिनी रहेको जानकारी दिए ।

त्यसैले त्यहाँसँगको चितवनको सम्बन्ध महत्वपूर्ण हुने सुवेदीको भनाइ छ । चितवन जंगल सफारीका लागि देशकै पहिलो गन्तव्य हो । यहाँको चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा जंगल सफारी गर्न पर्यटक आउने गर्दछन् । एक सिंगे गैँडा, पाटेबाघ, घडियाल गोही, चराचुरुङ्गी पर्यटकको रोजाइमा पर्ने गर्दछन् ।