बाबु गुमाएका तीन बालिकालाई सेभ हाउसले पढाउने

काठमाडौं । बाबु गुमाएर बिचल्लीमा परेका जिल्लाको सायल गाउँपालिका–२ सिर्मागाउँका गणेश ओलीका तीन जना छोरीलाई महिला तथा बालबालिका सेभ हाउस सिलगढीले पढाउने जिम्मा लिएको छ ।

केही दिन पहिले गाउँ नजिकैको जङ्गलमा घाँस काट्न गएका बेला गणेशको भीरबाट लडेर मृत्यु भएको थियो । घरमा कमाइ गर्ने एकमात्र अभिभावक बुबाको केही दिन पहिले लडेर मृत्यु भएपछि बिचल्लीमा परेका ती बालिकाको पढाइदेखि अन्य खर्च व्यहोर्ने गरी उद्धार गरिएको महिला तथा बालबालिका सेभ हाउसका अध्यक्ष जानकी मलासीले बताएकी छन् ।

कैलालीमा रहेको सेभ हाउसमा राखेर उनीहरुको पालनपोषणदेखि पढाइको व्यवस्था मिलाइएको स्थानीयवासी तेज डुम्रेलले बताए । सो संस्थाले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका अभिभावकबिहीन एकल तथा आर्थिक विपन्न परिवारका बालबालिकाको उद्धार, अध्ययन र पालनपोषण गर्दै आएको छ ।