विद्युत प्राधिकरणले काभ्रेलाई काठे खम्बामुक्त जिल्ला बनाउने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काभ्रपलाञ्चोक जिल्लालाई काठे खम्बामुक्त बनाउने भएको छ । प्राधिकरणको वितरण केन्द्र बनेपास्थित कार्यालयले विद्युत्का काठका खम्बा विस्थापन गर्न बजेट मागसँगै कार्ययोजना अघि बढाएको जनाएको छ ।

विद्युतका लागि वर्षौअघि गाडिएका काठका खम्बा जीर्ण हुँदा सेवा अवरुद्ध हुँदै दुर्घटनासमेत हुन थालेपछि ती पोललाई विस्थापन गर्न लागिएको हो । हाल प्राधिकरणको बनेपा र पाँचखाल वितरण केन्द्रले काठका खम्बा विस्थापन कार्य गरिरहेका छन् ।

“काठका खम्बा विस्थापन कार्य भइरहेको छ, आ–आफ्नो सेवा क्षेत्रका बाँकी खम्बा विस्थापन गर्न छुट्टै बजेट माग गरेका छौं”, काभ्रे वितरण केन्द्रका प्रमुख इञ्जिनियर माधवेन्द्र यादवले बताए । उनका अनुसार केन्द्रअन्तर्गत आठ स्थानीय तहका विद्युतका काठका खम्बा क्रमसः हटाउँदै फलामे राखिने छ ।

काठका जीर्ण खम्बाका कारण विशेषगरी वर्षायाममा खम्बा भाँचिदा विद्युत् सेवा अवरुद्ध हुने र दुर्घटनासमेत हुने हुँदा काठे खम्बा विस्थापन गर्न लागेको यादवले बताए । उनका अनुसार आठ स्थानीय तहमा करिब पाँच हजार काठका खम्बा विस्थापन गर्नुपर्छ ।

“वर्षौँअघि विद्युतीकरणका बेला विशेषगरी ग्रामीण भेगमा अधिकांश ठाउँमा काठका खम्बा छन्, अहिले स्थानीय सेवाग्राही नै काठका पोल विस्थापन गर्न निवेदन लिएर आउन थालेका छन्”, भन्छन् । प्राधिकरणको काभ्रेपलाञ्चोक शाखाले गत आर्थिक वर्षमा करिब तीन हजार काठका खम्बा विस्थापन गरिसकेको छ ।