वर्षेनी जनै पूर्णिमा लाग्ने मेला यसपालि नलाग्ने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तीर्थस्थल पाँचपोखरीमा जनैपूर्णिमाका अवसरमा वर्षेनी एक हप्तासम्म मेला लाग्ने गर्दथ्यो । यो वर्ष भने उक्त मेला नलाग्ने भएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टाँसी लामाले कोरोना महामारी फेरि बढ्न थालेकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेका हुन् । गत वर्ष पनि कोरोनाका कारण मेला लागेको थिएन ।

मेला तथा जात्राले कोरोना संक्रमण बढ्ने भएकाले मेला, जात्रा नगर्ने निर्णय गरिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पोखरेलले जनाएका छन् । यो वर्षको जनैपूर्णिमा भदौ ६ गते परेको छ । पहिला विभिन्न जिल्लाबाट सर्वसाधारण मेला भर्न पाँचपोखरी पुग्ने गर्दथे ।

समुन्द्री सतहबाट करिब चार हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा सानाठूला गरी पाँच वटा ताल रहेका छन् । यो पोखरी इन्द्रावती नदीको उदगमस्थल हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तब्यमध्ये सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी पनि एक हो । पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध चढाउन भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।

विशेषगरी त्यहाँ जाने भक्तजन खेतीपातीमा उन्नतिको आशीर्वाद माग्ने गर्छन् । पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाले शिवसरह श्रीमान् पाउने र बिहेपश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ । (रासस)