साउने सोमबार व्रत गोदान, पूर्णपात्र गरी समापन

काठमाडौं । सौरमासअनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजा आराधना व्रत बसेका भक्तजनले आज गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन्।

केही भक्तजनले शिवको विशेष पूजाआराधना गरी साउने सोमबारको व्रत समापन गर्ने गरेका छन्। धेरैजसो भक्तजनले भने साउन महिनाका पाँचवटै सोमबार गरेको व्रत समापनका लागि गोदान, पूर्णपात्र गर्ने गर्छन्। पशुपतिनाथ मूल मन्दिर नखुले पनि बाहिरी क्षेत्रमा गोदान, पूर्णपात्र गर्न बस्ने ब्राह्मण पुरोहित र व्रतालु भक्तजनको घुइँचो थियो।

विशेषगरी वैदिक सनातन हिन्दू धर्मावलम्बीले साउनको सोमबार नियमित व्रत बस्ने गर्छन्। साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ।

साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने, पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रुपमा मनाउने गरेका छन्। साउनको पनि सोमबार विशेष मानिन्छ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रुपमा मानी यस दिन आराधना गर्ने गरेको बताउँछन्।

परम्पराअनुसार कुनै कुल विशेषले चान्द्रमास अनुसारका श्रावण महिनामा साउने सोमबारको व्रत गरे पनि कर्कट राशिमा सूर्य भएका सोमबार विशेष रुपमा शिवजीको आराधना गर्ने शास्त्रीय विधि रहेको उनले सुनाए।

यस वर्ष साउन ४, ११, १८, २५ र ३२ गते गरी पाँचवटा सोमबार परेकामा आज अन्तिम सोमबार व्रत विशेष पूजा वा गोदान, पूर्णपात्र गरी विधिपूर्वक समापन गरिएको हो।

नयाँ व्रत सुरु गर्ने पाँचवटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भनी लोकमा गरिने व्यवहारमा शास्त्रीय मत नमिल्ने पनि अध्यक्ष गौतमले जानकारी दिए। शास्त्रीय मान्यताअनुसार चारवटा सोमबार परेको वर्षबाट पनि नयाँ व्रतालुले आराधना गर्न सक्छन्।