बौद्धिक अपाङ्ग पुनस्र्थापना केन्द्रलाई आर्थिक सहयोग

काठमाडौं । काभ्रे सेवा समाज (कासेस) ले कोभिड–१९ सहयोगअन्तर्गत पाँचखाल नगरपालिका–११ खरेलथोकस्थित बौद्धिक अपाङ्ग पुनस्र्थापना केन्द्रलाई आर्थिक सहयोग गरेको छ । समाजलाई इन्भाष्ट ग्लोबल अष्ट्रेलियाबाट प्राप्त सहयोग रकमबाट केन्द्रलाई रु दुई लाख ५० हजार सहयोग प्रदान गरिएको हो ।

केन्द्रको छात्रावास खरेलथोक, स्वाँरामा आयोजित कार्यक्रममा समाजका सल्लाहकार एवं पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल र समाज अध्यक्ष नारायणसिंह महतले संयुक्त रुपमा सो रकम केन्द्रका अध्यक्ष केवलप्रसाद सिग्देललाई हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा समाजका सल्लाहकार खरेलले बौद्धिक अपाङ्ग भएका बालबालिकालाई सहयोगको आवश्यकता पर्ने भएकाले केन्द्रमा हाल आश्रितलाई दैनिक खाना–खाजामा सहयोग पुगेको बताए ।

समाजका अध्यक्ष महतले कोभिड–१९ को लहर फैलिएलगत्तै विभिन्न दाताको समन्वयमा काभ्रे जिल्लाका लागि राहत र सहयोगका लागि समन्वय गरिरहेका बताउँदै कोभिड–१९ राहत सहयोगअन्तर्गत बौद्धिक अपाङ्ग भएका व्यक्तिलाई सहयोग दोस्रो कार्यक्रम भएको बताए ।

उनले केन्द्रलाई तत्कालै सहयोगस्वरुप रु पाँच हजार र पनौती नपा–५, ढलमलेका जनस्वास्थ्यकर्मी रञ्जुसिंह थापाले रु तीन हजार प्रदान गर्नुभएको थियो । यस्तै वडामध्ये शिवशरण तामाङले केन्द्रलाई रु २५ हजार प्रदान गरे ।

केन्द्रका कोषाध्यक्ष रमेश खरेल र सचिव एवं शिक्षिका सुधा खरेलले अन्य खाले अपाङ्गताभन्दा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको पुनस्र्थापना जटिल हुने अनुभव सुनाए । २०५८ सालमा स्थापित केन्द्रमा हाल २६ विद्यार्थी, शिक्षक र सुसारे छन् । रासस