पछिल्लो २४ घण्टामा तीन हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा ३ हजार २७४ जनामा कोरोनामा भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो समय ११ हजार ५६५ जनामा पिसिआर र ६ हजार १२४ एन्टिजेन परीक्षण गर्दा ३ हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो । उक्त विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या सात लाख ३७ हजार २९४ जना पुगेको छ । त्यसैगरी एन्टिजेन परीक्षणबाट ७६ हजार ८३३ देखिएको छ । पछिल्लो समय थप एक हजार ९२९ निको भएका छन् ।

योसँगै कोरोना संक्रमण जित्नेको संख्या ६लाख ८७ हजार ६९ पुगेको छ । यो आँकडालाई हेर्दा निको हुने दर ९३ दशमलव दुई प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । हाल नेपालमा ३६ हजार ५७५ होम आइसोलेसन र तीन हजार २९६ संस्थागत आइसोलेसमा रहेका छन् ।

त्यसैगरी ७९० जना आइसियु र १९१ भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ रहेको छ । हाल क्वारेन्टिनमा ४१५ जना रहेका छन् । त्यस्तै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप २७ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्यु दर १दशमलब ५ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ४४ हजार ५२८ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयद्वारी विज्ञप्तिमा उल्लेख छ ।