ओखलढुंगाका अधिकांश जमीन आकासे पानीको भरमा

ओखलढुंगा । ओखलढुंगा जिल्लाका अधिकांश जमीन आकासे पानीको भरमा छन् । आकासे पानीको भर खेती गर्नुपर्ने भएकाले यस वर्षको धान रोपाइँ ढिला भएको किसानको गुनासो छ ।

समयमा मूल फुट्नेगरी पानी नपर्नु र सिँचाइको सुविधा नभएका कारण साउनको अन्तसम्ममा आकसे पानी संकलन गरेर रोपाइँ गर्नुपरेको हो । जिल्लाको कूल चार हजार ४०३ हेक्टर जमिनमा धानखेती हुने गर्दछ ।

कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष समयमै पानी नपर्नु र सबैतिर सिँचाइको सुविधा नहुँदा रोपाइँमा ढिलाइ भएको हो । ढिलो गरी रोपिएको धानबाट सोचेजस्तो उब्जनी नहुने केन्द्रका बाली विज्ञान संरक्षण अधिकृत गणेश अधिकारी खत्रीको भनाइ छ ।

धेरै धान रोपाइँ सिद्धिचरण नगरपालिकामा २१ प्रतिशत (९३२ हेक्टर) जमिनमा भएको छ भने सबैभन्दा कम खिजीदेम्बा गाउँपालिकामा चार दशमलव २९ प्रतिशत (१८९ हेक्टर) जमिनमा भएको छ । चिसङखगढी गाउँपालिकाको ६८८ हेक्टर, मानेभञ्ज्याङको ३८६, मोलुङको ५९६, सुनकोशीको ५०८, चम्पादेवीको ५३८ र लिखुको ५६६ हेक्टर जमिनमा धान रोपाइँ भएको छ ।