मेलम्ची बजार आसपासमा फोहरको थुप्रो, काठमाडौं महानगरको फोहोर मैतीदेवी मन्दिरको द्वारमा

मेलम्ची। मेलम्ची नगरपालिकाले फोहर उठाउन बन्द गरेपछि नगरवासी समस्यामा परेका छन्।

हालैको अकल्पनीय बाढीले पुलबजार तथा पीपलबोट क्षेत्रका केही घरमा क्षति र केही घरका पसलमा बालुवा भरिएर पनि अन्य क्षेत्रका बजार सञ्चालनमा छन्। बाक्लो वस्ती भएकै कारण फोहोर पनि बढी नै निस्कने गरेको छ।

नगरपालिकाले विगतमा हप्तामा दुई दिन फोहर उठाउने गरेकामा मेलम्ची–इन्द्रावती बाढीपछि ठप्प भएको छ। नगरपालिकाले फोहर प्रशोधन केन्द्रसमेत निर्माण गरी फोहर व्यवस्थापनको तयारी गरेका बेला बाढीले केन्द्रको नामनिशानासमेत राखेन।

अहिले फोहर व्यवस्थापन नहुँदा बजार दुर्गन्धित बनेको व्यवसायी प्रकाश दाहालले बताए। तत्काल अस्थायीरूपमा भए पनि व्यवस्था मिलाइ फोहर उठाउनुपर्ने आवश्यकता भएको उनले बताए।

होटल, तरकारी पसल, किराना पसल तथा घरघरबाट निस्कने फोहर व्यवस्थापन नहुँदा अहिले मेलम्चीका खहरेखोला र बजार आसपासका छेउछाउ फोहरले भरिएका छन्।

कतिपयले फोहर डडाउने गर्दा प्रदूषण बढेको छ। प्लाष्टिकजन्य पदार्थसमेत जलाउने गर्दा बजारमा बस्नसमेत उकुसमुकुस हुने गरेको स्थानीयवासी नवराज दुलाल जानकारी दिए।

अहिले नदीलाई पुरानै धारमा फर्काइ नदी किनारका बस्ती जोगाउन नगरपालिकाले उच्च प्राथमिकताका साथ काम गर्दा अन्य काममा ध्यान दिन सकेको छैन।

दीर्घकालीन सोचका साथ फोहर व्यवस्थापनका लागि ठाउँको खोजी भइरहेको नगरप्रमुख डम्बर अर्यालले जानकारी दिए।

बाढीले बितण्डा मच्चाएको मेलम्चीमा पछिल्लो समय पिउने पानी, फोहरको व्यवस्थापन, स्वास्थ्य सतर्कता चुनौतीको विषय बनेको छ।

तस्विरः काठमाडौंको मैतीदेवी मन्दिरको गेटमा स्थानीयले थुपारेको फोहोर। काठमाडौं महानगरले हप्तौंदेखि फोहोर नउठाएपछि स्थानीयले फोहोर मन्दिर अगाडि थुपारेका छन्।