अष्टलक्ष्मी शाक्यद्वारा पहिलो महिला मुख्यमन्त्रीका रुपमा शपथ

हेटौँडा । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेपालको पहिलो महिला मुख्यमन्त्रीा रुपमा शपथ लिएकी छिन् । उनले बुधबार बागमती प्रदेशको मुख्यमन्त्री रुपमा शपथ लिएकी हुन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बन्न सफल भएकी हुन् । शाक्यले दुई मन्त्री पनि नियुक्त गरेकी छिन् ।

उनले कृष्ण खनाललाई सामाजिक विकासमन्त्री र केशवराज पाण्डेलाई भौतिक पूर्वाधार विकासमन्त्री बनाएकी छिन् । भूमि व्यवस्था, कृषि तथा सहकारी, उद्योग पर्यटन, वन तथा वातावरण, आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना मन्त्रालय मुख्यमन्त्री शाक्यले नै राखेकी छिन् । ६७ वर्षअघि काठमाण्डौको झोछेँ टोलमा जन्मिएकी शाक्यले १८ वर्षको उमेरमा एसएलसी परीक्षा पूरा गरेपछि चिनियाँ भाषा सिकेकी थिइन् ।

रत्न राज्यलक्ष्मी क्याम्पसमा उच्च शिक्षाका लागि भर्ना भएकी शाक्यले तत्कालीन नेकपा मालेको सम्पर्कमा पुगेर जन्म घर छाडेरै भूमिगत राजनीति सुरु गरेकी थिइन् । २६ वर्षको उमेरमा मालेकै नेता अमृत बोहोराका साथ भूमिगत रुपमा पार्टीकै आयोजनामा प्रगतिशील विवाह गरेकी शाक्यले देशमा बहुदलीय प्रजातान्त्रिक व्यवस्था आएपछि २०५६ सालमा काठमाडौँको क्षेत्र नम्बर ४ बाट निर्वाचित भइ त्यसको पाँच वर्षपछि पहिलो पटक महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बनेकी थिइन् ।

त्यसैगरी तीन वर्षपछि उद्योग मन्त्री समेत बनिन् । नेकपा एमालेका केन्द्रीय सदस्य, महिला विभाग प्रमुख, स्थायी समिति सदस्य हुँदै उपाध्यक्षमा निर्वाचित शाक्य पछिल्लो पटक काठमाडौँ क्षेत्र नम्बर ८ बाट प्रदेश सभामा निर्वाचित भएकी थिइन् ।