मौद्रिक नीतिले सेयर बजार प्रभावित

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले सेयर बजार प्रभावित भएको छ । मौद्रिक नीति आएको पहिलो दिनै सेयरको कारोबार उच्च भयो।

२१ अर्ब ६४ करोड रुपैयाँको कारोबार गर्दै बजारले दैनिक कारोबारमा रेकर्ड कायम गरेको छ। प्छिल्लो कारोबार हेर्दा लगानीकर्ता ‘कन्फ्युजन’मा देखिएको बजार विश्लेषक बताउँछन्।

बजार घटेको समयमा थप लगानी गरेर बसिरहने कि आगामी दिनमा बजार अझै घट्ने भएका कारण भएको सेयर बेचेर निस्कने भन्ने दोधारमा लगानीकर्ता रहेको विश्लेषकको आँकलन छ।

आइतबार ३१७१ अंकबाट कारोबार सुरु भएकोमा १२ बजेर ३६ मिनेट जाँदा ६६ अंकले ओरालो लागेर ३१०५ अंकमा पुगेको थियो। बजार ओरालो लागेको मौका छोपेर लगानीकर्ताले सेयर किन्न थालेपछि बजार पुनः उकालो लागेर २ बजेर ३२ मिनेट जाँदा ३१७३ अंकमा पुगेको थियो।

पछि विस्तारै बजार ओरालो लागेर ३१५४.३१ अंकमा अडिएको छ। यसबाट पनि लगानीकर्ता कन्फ्युजनमा रहेको पुष्टि हुने विश्लेषकको तर्क छ। आज बजार ५० अंकभन्दा माथिले बढ्ने अनुमान लगानीकर्ताको थियो।

तर, २४.५७ अंकले घट्न पुग्यो। ‘मौद्रिक नीतिमार्फत सेयर बजारमा धेरै कडाइ गरिन्छ भन्ने सोच लगानीकर्तामा थियो, त्यसैले उनीहरु अत्तालिएका थिए। तर, सोचेअनुसारको कडा नभई बजारअनुकूल नै आएकोले सेयर बजारमा ठूलो पहिरो गएन,’ नेप्सेका एक उच्च अधिकारीले भने।

सेयर धितो कर्जामा एक व्यक्तिले १२ करोड रुपैयाँभन्दा बढीको सेयर धितोमा कर्जा लिन नपाइने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ, जुन नेपालको सेयर बजारका लागि पर्याप्त हो।

१२ करोड रुपैयाँ खेलाएर नै मानिसले पर्याप्त लगानी गर्न सक्ने र अहिले पनि १२ करोडभन्दा माथिको सेयर धितोमा कर्जा कसैको नभएको नेप्सेका ती अधिकारीले जानकारी दिए।

सेयर बजारमा कारोबार गर्नका लागि सेयर धितो कर्जा प्रत्यक्ष लगानी भए पनि ओभरड्राफ्ट कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जाहरुको लगानी पनि सेयर बजारमा नै हुने गरेको छ। यसका बारेमा नेपाल राष्ट्र बैंक मौन छ।

नेपाल धितोपत्र बोर्डले केही समयअघि सार्वजनिक गरेको सेयर बजारसम्बन्धी प्रतिवेदनमा बजारलाई नियन्त्रण गर्न जरुरी रहेको तथा त्यसको लागि मौद्रिक नीतिले आवश्यक व्यवस्था गर्नुपर्ने सुझाव दिइएको थियो।

तर संसदको अर्थ समितिले अघिल्लो शुक्रबार पुँजी बजारलाई धक्का लाग्ने खालको मौद्रिक नीति नल्याउनका लागि नेपाल राष्ट्र बैंकलाई औपचारिक अनुरोध नै गरेको थियो।

अर्थ समितिको आग्रहलाई मान्दै राष्ट्र बैंकले मौद्रिक नीतिमा पुँजीबजारलाई कडाइ गर्ने नभएर नरम नीति अपनाएपछि लगानीकर्ता थप उत्साहित भएर लगानी गर्दा बजार घटे पनि कारोबार भने बढेको हो।

‘केही मानिसहरु अब बजार घट्छ भन्दै बेच्न थाले भने केही अब बजार बढ्ने भन्दै किन्न थाले, जसको परिणाम कारोबार बढ्यो,’ नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने, ‘एक दिनको कारोबार हेरेर यसै हो भन्न सकिँदैन।’

आइतबार ५९ कम्पनीको सेयर बढेको छ भने १२६ कम्पनीको बजार घटेको छ। यसदिन खानीखोला हाइड्रोपावर कम्पनी, जीवन विकास लघुवित्त संस्था र युनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य दश प्रतिशतले बढेको छ।

त्यस्तै सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडको भएको छ। आइतबार यस बैंकको १ अर्ब ५ करोड बराबरको सेयर कारोबार भएको थियो। त्यस्तै हिमालयन डिष्टिलरी, अपी पावर कम्पनी, रिडि हाइड्रोपावर कम्पनी लगायतको सेयर कारोबार बढेको छ।