शुरु भयो ‘साँपारु’

काठमाडौं। दिवंगत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो बस्ती रहेका मुख्य सहरमा धुमधामका साथ गाइजात्रा (साँपारु) पर्व मनाईंदैछ।

भक्तपुरमा आजको दिन अर्थात् गाईजात्रा पर्वलाई ‘साँपारु’ भनिन्छ। सो शब्द गाई र आजको तिथि समेटिएर बनेको हो। साँपारु भक्तपुरमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो।

यहाँ यो पर्वको औपचारिक सुरुआत जनैपूर्णिमाको साँझबाट नै हुन्छ। पर्वका पूर्वसन्ध्यामा जनैपूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी निकालेको घिन्ताङघिसी नाचले नगर परिक्रमा गरेसँगै यहाँ साँपारु पर्व शुरु हुने परम्परा छ।

यस वर्ष कोरोना सङ्क्रमणको जोखिमका कारण पर्वलाई औपचारिकतामा सीमित गर्ने भक्तपुर नगरपालिका र सरोकारवाला निकायले जनाएका छन्। यसैका कारण आइतबार साँझ गाईजात्रा घिन्ताङघिसी नाच नगर परिक्रमा नगरिएको गुठी संस्थान भक्तपुरले जनाएको छ।

दरबारस्क्वायरस्थित तलेजु भवानीको साँया (गाईजात्रा) निकालेपछि मात्र सर्वसाधारणले आफ्ना मृतक आफन्तको सम्झनामा साँया निकालिन्छ। सोअनुसार आज बिहान भाले नबास्दै तलेजुको साँया निकालिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

भक्तपुरको गाईजात्रालाई मुलुकका अन्य भागमा मनाउने गाईजात्राभन्दा भिन्न र मौलिकशैलीको रुपमा लिइन्छ।

यहाँको मुख्य आकर्षण घिन्ताङघिसी नाच हो। यससँगै दिवङ्गतको आत्माको शान्तिको कामना गर्दै निकाल्ने तहामचा जिल्लामा मनाइने गाईजात्राको अर्को आकर्षण हो।

धिमे, भुस्या, खीं, ताय् बाजाको संयुक्त लयमा घिन्ताङघिसी नाच करिब एक हात लामो गोलाकार काठको लट्ठी एकापसमा बाजाका तालमा जुधाएर नाचिने नाच हो। यो नाच समूहमा नाचिने नाच भएकाले जति बढी सहभागीको सङ्ख्या हुन्छ त्यति नै मनमोहक देखिन्छ।

तहामचा बाँसबाट बनाइन्छ। हरियो करिब १५ फिट लामो चारवटा बाँसलाई ठाडो पारेर आयातकारमा बाँधेर यसलाई कपडाले बेरेर तहामचा बनाइन्छ। तहामचाको शिरमा गाईको चित्र, परालको सिङ राख्ने र त्यसलाई छाता ओढाइन्छ।

यसलाई बाँसको नोल लगाएर मृतकका आफन्तले काँधमा बोकेर नगर परिक्रमा गराइन्छ। यसमा मृतकको तस्विरसमेत राखिन्छ। यसले जात्रा हेर्न आएकालाई कसको तहामचा निकालेको त्यो स्पष्ट हुने गर्दछ। यसलाई नगरपरिक्रमा गराउनुपूर्व मृतकको घरको मूलढोका अगाडि पुरोहितले क्रियापुत्रद्वारा सङ्कल्प गराई विधि विधानअनुसार पूजा गर्ने प्रचलन छ।

भक्तपुर कै तालाकोस्थित कुमालेले भने मृतक आत्माको शान्तिका लागि माटोको गाई बनाएर नगर परिक्रमा गराईन्छ।

गाईजात्राको दिन विधिवत्रुपमा गाईलाई नगर परिक्रममा गराएमा मृतात्मा सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास छ। गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतक आत्माले गाईको पुच्छर समातेर वैतणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वास समेत रही आएको छ।

लिच्छविकालको अभिलेखमा गौ युद्ध उत्सव भनी लेखिएको पाइएकाले लिच्छवीकालमा पनि गाईजात्रा मनाइन्छ भन्ने मान्न सकिन्छ । १४ औँ शताव्दी भन्दा अगाडि लिच्छविकालको अन्त्यतिर गाईजात्रा पर्व सुरु भएको मान्न सकिने आधारहरु भएको बताइन्छ।

प्रताप मल्लकी रानी पुत्र वियोगको शोकमा डुबेकाले रानीको मन शान्त पार्न सो बेलादेखि गाईजात्रामा हास्यव्यङ्ग्य, ख्यालठट्टासमेत प्रदर्शन गर्न थालिएको हुन् सक्ने संस्कृतिकर्मीको मत रहेको छ।

भक्तपुरमा साँपारु पर्व तान्त्रिक विधिले गर्ने भएकाले यहाँको गाईजात्रा अन्य स्थानको भन्दा भिन्न र मौलिक शैलीको भएकोसंस्कृतिविद् हरिशरण राजोपाध्यायले जानकारी दिए।