बाँदर धपाउने यन्त्र वितरण

डोटी । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडामा किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि बाँदर धपाउने यन्त्र वितरण गरिएको छ ।

बाँदरले मकैबालीमा धेरै नोक्सानी गर्न थालेपछि किसानको आग्रहमा साइन नेपाल नामक संस्थाले उक्त बाँदर धपाउने यन्त्र वितरण गरेको हो । राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँबाट खरिद गरी ल्याइएका उक्त यन्त्र गाउँपालिकाका सात वडामा वितरण गरिएको जनाइएको छ ।

उक्त यन्त्र पड्काउँदा ठूलो आवाज आउने र त्यसले ध्वनि प्रदूषण गर्ने भएकाले वडाको जिम्मामा आवश्यकतानुसार मात्र शतर्कता अपनाएर यन्त्र प्रयोग गर्न सुझाइएको छ ।

बाँदरको पीडाबाट छुट्कारा पाउन गाउँपालिकाका सातवटै वडाका अध्यक्षलाई २५ थान यन्त्र हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । उक्त यन्त्र पड्काउँदा कम्तीमा पनि २० वटा बन्दुक पड्काए जति आवाज आउने र बाँदर ठाउँ छाडेर नयाँ ठाउँमा जाने साइन नेपालले जनाएको छ ।