नवजात शिशुको हत्या गर्ने आमा पक्राउ

वैतडी । डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी थिचेर हत्या गरेकी हुन् ।

अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जनाएका हुन् ।

घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँटी थिचेर हत्या गरेको बताइएको छ । माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएको जनाइएको छ ।

माधवीलाई प्रहरीले पक्राउ गरिसकेको छ । अहिले माधवी प्रहरीक नियन्त्रणमा रहेकी र अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

उनका श्रीमान् १० वर्षदेखि वैदेशिक रोजगारमा गएका र उतै बेपत्ता भएको प्रहरीले जनाएको छ । माधवीका १३ वर्षीय एक छोरा पनि छन् ।