तेह्रथुम पावर कम्पनीको आइपिओ बिक्रि खुल्ला

काठमाडौं । तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आजबाट बिक्री खुला भएको आइपिओ भदौ १३ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ ।

यदि सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म शेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ । कम्पनीले रु एक सय अङ्कितका दरले ८ लाख कित्ता शेयर निष्काशन गरेको छ ।

जसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेका सात लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

यसअघि कम्पनीले आयोजना प्रभावितका लागि चार लाख कित्ता शेयर निष्काशन गरिसकेको छ । आयोजना प्रभावितका लागि शेयर निष्काशन गरेपश्चात् कम्पनीले सर्वसाधारणका लागि ८ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । रासस