लेखनाथ उद्योग वाणिज्य संघमा आत्रेय

गण्डकी । लेखनाथ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा छत्रधर आत्रेय सर्वसम्मत रुपमा चयन हुनुभएको छ । सङ्घको यही भदौ १८ र १९ गते हुने १३औँं अधिवेशनका लागि मङ्गलबार भएको उम्मेदवारी मनोनयमा अध्यक्ष पदका लागि आत्रेयको मात्रै उम्मेदवारी परेका कारण विधानतः उहाँ सर्वसम्मत बन्नुभएको हो ।

सङ्घको अन्य पदमा भने निर्वाचन हुने भएको छ । वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष विनोद श्रेष्ठ तथा अघिल्लो कार्यसमितिका महासचिव भरतकुमार अधिकारीको उम्मेदवारी परेको छ ।

त्यस्तै प्रथम उपाध्यक्षमा राजेन्द्र ओझा र प्रकाशलाल श्रेष्ठको उम्मेदवारी परेको छ, भने द्वितीय उपाध्यक्षमा शैलेन्द्रमोहन भट्टराई तथा गोपीचन्द्र बाँस्तोलाको उम्मेदवारी छ । महासचिव पदमा उपेन्द्र सुवेदी र मेनुका श्रेष्ठ, उपमहासचिवमा जानुका पराजुली र धीरजकुमार श्रेष्ठको उम्मेदवारी परेको छ ।

कोषाध्यक्ष पदमा रामजी पौडेल, भीमबहादुर नेपाली ‘काइला’, भरत ओझा र दिलकुमारी दाहाल ‘सन्ध्या’ को उम्मेदवारी परेको छ । सङ्घको आठ खुल्ला सदस्य, दुई महिला सदस्य ,एक संस्थागत सदस्य र एक एशोसियट सदस्य गरी १२ जनाको लागि ३० जनाको उम्मेदवारी छ ।

अध्यक्ष पदमा सर्वसम्मत बन्नुभएका आत्रेयले उद्योगी व्यवसायीका हकहितका लागि क्रियाशील बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफूले व्यावसायिक क्षेत्रमा गरेको योगदानका कारण सर्वसम्मत हुन पाएको स्मरण गर्दै उहाँले कोभिडका कारण मारमा परेका व्यवसायीका हकहितका सवालमा सम्बन्धित निकायमा अझै सशक्त आवाज उठाउने उहाँले बताउनुभयो । सङ्घमा हाल एक हजार ७३६ व्यवसायी आवद्ध छन् ।रासस