छोराको हत्या आरोपमा सौतेनी आमा जेल चलान

महोत्तरी । महोत्तरी जिल्ला अदालतले छोराको हत्या आरोपमा सौतेनी आमालाई जेल चलान गरिएको छ । जिल्लाको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी देवीले छोरा ५ वर्षीय रितेश यादवलाई हत्या गरेको आरोप छ ।

उनलाई अदालतले पुर्पक्षका लागि जलेश्वर कारागार पठाएको छ । सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका बाबु चन्द्रकिशोरलाई साधारण तारेखमा छोडिएको छ ।

१० महिनाअघि जेठी पत्नी छँदाछँदै कान्छीको पत्नीको रुपमा (रागनी)लाई भित्र्याएपछि चन्द्रकिशोरलाई जेठी पत्नीले ५ वर्षीय र अढाई वर्षीय आफ्ना दुई सन्तान (छोरा)लाई पतिकै जिम्मा छाडेर माइती गएर बस्दै आएकी थिइन् ।

यता साउन १४ गते दिउँसो उनको जेठो छोरा ५ वर्षीय रितेशलाई सौतेनी आमाले हत्या गरेको आरोपमा उनलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाएको हो । घटनापश्चात् आमा र बुबा दुवै घरबाट फरार भएका थिए ।

प्रहरीले घटना घटाएकै दिन बुबालाई महोत्तरीबाटै र सौतेनी आमालाई धनुषाबाट पक्राउ गरी उनीहरुमाथि कर्तव्य ज्यान मुद्दा चलाएको हो । रासस