निर्वाचन आयोगले दुवै दललाई मान्य दियो

काठमाडौं । निर्वाचन आयोगले दल दर्ताको लागि आवेदन गरेका दुई दललाई मान्यता दिएको छ ।  आयोगको बैठकले माधव नेपालको अध्यक्षतामा रहेको नेकपा (एकीकृत समाजवादी) र अर्को लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता प्रदान गरेको हो ।

यी दुवै दललाई मान्यता प्रदान गर्दै दलको प्रमाणपत्र दिइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाएका छन् । आयोगका सचिव सुरेश अधिकारीका अनुसार नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डे र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव झालाई दल दर्ताको प्रमाणपत्र प्रदान गरिएको छ ।

नेकपा (एमाले) बाट विद्रोह गरी अलग राजनीतिक दलका लागि ५६ केन्द्रीय सदस्य र ३० सांसदले आयोगमा सशरीर उपस्थित भई नयाँ दलका पक्षमा सनाखत गरेका हुन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित हिजो बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि डाकिएको थियो ।

दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेश गरेकोमा भास्कर काफ्ले र रवीन कोइरालाको मात्र आज सनाखत हुन सकेन । पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट सनाखत गरेका थिए ।

संघीय संसद्का २९ जना सांसदले पनि नयाँ दलका पक्षमा सनाखत गरेका थिए । सांसद सोमप्रसाद पाण्डेय, मायादेवी ज्ञवाली र शारदा भट्टको निवेदनका बेला दस्तखत नभए पनि उक्त दलका पक्षमा सनाखतका लागि आयोग पुगेका थिए ।