‘तोरी खायो मौरीले’ गीतलाई लिएर मौरीपालक महासंघको ‘तोरी विज्ञप्ती’

० शंकर खैराली

काठमाडौं । ‘भोगटेले ठाउँमात्रै ओगटे’, ‘अहिलेकै सालमा पोइल जान पाम शिव’, ‘आँखी गाजल झिमिक्कै चोलीतुना कसियो टिमिक्कै’, ‘यसपालीको तिज बरै ख्यास्स पुतली’ अनि भिटेनलगायतका गीत स्वाद मानी मानी हेर्ने र त्यसैपरे सार्वजनिक कार्यक्रममै कम्मर मर्काएर रमाउने  यही समाज हो।

समाज, सत्ता र प्रशासनतन्त्रभित्रको भ्रष्टाचार, लुट र दुराचारलाई लिएर गाइएको लुटन सके टुट कान्छा नपचाउने पनि यही समाज र प्रशान हो। तर कतिपय अवस्थामा भने अर्थ न तर्कको विरोध पनि नेपाली सांगीतिक वा सिर्जनाका क्षेत्रमा हुने गरेको छ।

त्यस्तै भएको छ खेम सेन्चुरी र कमला घिमिरेको आवाज र नेत्र अर्यालको शब्दमा दुई महिना अघि सार्वजनिक भएको ‘तोरी खायो मौरीले’ बोलको गीतको हकमा पनि। गीत लाई लिएर नेपाल मौरीपालक महासंघले भदौ २६ गते एक विज्ञप्ती निकालेर आपत्ति जनायो।

गीतमा ससाना भाइबहिनीलाई अभिनयको भूमिकामा राखेर एक दाजुले धेरै पढ्नुपर्छ । असल र ज्ञानी मान्छे बन्नुपर्छ भन्ने सन्देशसहित मायालु शैलीमा प्रोत्साहित गरेको दृश्य र शब्द समेटिएको छ। तोरी खायो मौरीले शब्द बिम्बका रुपमा मात्रै प्रयोग गरिएको छ।

तर मौरीपालक महासंघका अध्यक्ष शिवप्रसाद शर्मा (पौडेल)ले भने उक्त स्थायीलाई मात्रै लिएर कडा र आपत्तिजनक शब्द प्रयोग गरेर विज्ञप्ती निकालेका छन्। एउटा सर्जकले माछा, हिमाल, पानी, बतास, गुँरास, चन्द्रमा, तोरी, गुलाबलाई स्थायी अन्तरा वा बिम्बका रुपमा प्रयोग गर्दै आएको र गर्न पाउने हक भए पनि महासंघले भने विरोधका लागि विरोध मात्रै होइन आफ्नो लेटरप्याडलाई असिष्ट शब्द उतार्ने कागजको रुपमा प्रयोग गरेको छ।

जबकी प्राकृतिक सत्य भनेकै मौरीले तोरी र अन्य फूलहरु चुसेर नै मह उत्पादन गर्ने हो। त्यसैलाई स्थायी अन्तराका रुपमा तोरी खायो मौरीले भन्दैमा कुनै किसानको न तोरी उत्पादन घट्ने देखिन्छ न त मौरी पालन व्यवसायमा नै आँच आउने देखिन्छ।

तर महासंघले आक्रोसित हुँदै प्रकाशन गरेको विज्ञप्तीमा सर्जकप्रति आपत्ति जनाउँदै ‘सर्जकले आफ्नो अधिकार उपयोग गर्ने नाममा भ्रामक र साथै पागलपन, बहुलट्ठीपन प्रयोग गरि यस्ता गीतहरु सम्प्रेसित र प्रकाशित गर्ने कमला घिमिरेप्रति खेद प्रकट गर्दै सरकारसँग हदैसम्म कारबाहीको माग गर्दछौँ’ भनिएको छ।

तोरी उत्पादनमा मौरी विचरण गर्दा ३० देखि ३३ प्रतिशत भन्दा बढी उत्पादनमा बृद्धि हुने दावी गर्दै महासंघले यो गीतले तोरी उत्पादक किसान र मौरीपालकलाई समस्या परेको ‘तोरी तर्क’ अघि सारेको छ।

हो सिर्जनाका नाममा कसैलाई अपमानित गर्ने, कसैको शारिरिक, मानसिक वा अन्य कमजोर अवस्थाको खिल्ली उडाउन वा होच्याउन पाइँदैन। तर सकारात्मक सन्देश दिन बिम्बका रुपमा प्रयोग हुने शब्दलाई लिएर सर्जकहरुलाई नै पागल, बहुलट्ठी जस्ता शब्द प्रयोग गर्ने महासंघजस्तो संस्थाले लिखित रुपमा भन्न पाउने कि नपाउने ? कानुनी कारबाही हुने कि नहुने ? प्रश्न महासंघतिरै सोझिएको छ।