मनपरी ढंगले पार्टी नचलाउन ओली–प्रचण्डलाई नेता नेपालको चेतावनी

जनकपुरधाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मनपरी ढंगले पार्टी नचलाउन चेतावनी दिएका छन् । उनले हामी मात्रै सर्वोपरी हुँ ठानेर पार्टीमा तानाशाह नलाद्न चेतावनी दिएका छन् ।

नेता नेपालले पार्टी चलाउने पद्धतिबारे जानकार नभए सिक्न समेत आग्रह गरे । जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा नेता नेपालले जनयुद्ध दिवस मनाउने निर्णय आफूलाई थाहा नभएको बताउँदै असन्तुष्टि जनाएका थिए ।

कुनै निर्णय गर्दा पार्टीको बैठक बोलायर सबैसँग सल्लाह गरेर गर्न पनि उनले आग्रह गरे । पार्टीलाई कुनै ब्यक्तिको सस्था जस्तो बनाउन नहुँने उनको तर्क थियो ।

निजी निर्णय गर्ने शैलीमा गम्भीर आपत्ति रहेको भन्दै उनले भने, ‘यो व्यक्तिले म सर्वेसर्वा हुँ ठान्ने, चाहे एक अध्यक्ष होस्, चाहे दुई अध्यक्ष होस् । यो तरिका गलत हो ।’ भिधिर प्रकृया पुरा गरेर अगाडि बढे मात्रै पार्टीले गति लिन सक्ने उनको तर्क थियो ।

सहिदको सम्मान गर्नुपर्नेमा आफ्नो आपत्ति नरहे पनि बिधि र प्रकृया अनुसार गर्नुपर्नेमा भने आफू दृढ रहेको उनले बताए । एकल निर्णय लाद्न खोजे पार्टी दुर्घटनामा समेत पर्न सक्ने उनले चेतावनी दिए ।

नेकपाले बुधबार जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको सम्मानमा देशभर कार्यक्रम गरेको थियो । पार्टी कार्यालय धुम्बाराहीमा पनि कार्यक्रम भएको थियो तर, नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेता नेपाल लगायतका नेताहरु भने अनुपस्थित रहेका थिए ।