सिराहमा दुर्घटनाबाट दुईको मृत्यु

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका– ३ स्थित गागन खोलाको पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख १३१ नं को ट्रकले विपरीत दिसातर्फ जाँदै गरेको स७ प ९१८५ नं को मोटरसाइकललाई आज बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ३० वर्षीय अभिशेक कटुवाल र ३७ वर्षीय अच्युत लुइँटेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट गम्भीर घाइते कटुवालको उपचारका क्रममा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा र लुइँटेलको विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले जनाएका हुन् ।

ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुन्धान भइरहेको प्रहरी निरीक्षक राईले बताए ।