भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएपछि धमाधम ठूला लगानीका होटेल खुल्दै

नवलपरासी । केही महिनापछि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि पश्चिम नवलपरासीको विकास उन्मुख क्षेत्र भूमहीमा ठूलो लगानीमा होटेल ब्यवसाय खुल्न थालेका छन् ।

विमानस्थलका कारण यो क्षेत्र समेत आर्थिक रुपमा चलायमान हुने देखिएको छ । सुनवल नगरपालिका १२ भुमहीमा पनि करोडौँ लगानी गरेर सुविधा सम्पन्न होटल खोल्ने क्रम बढ्दै गएको हो ।

पछिल्लो पटक पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ भुमहीमा जग्गासहित करिब ३० करोड लगानीमा निर्माण सम्पन्न भएको होटल एटलस सन्चालनमा आएको छ । भौतिक संरचना मात्र करिब आठ करोडमा निर्माण भएको होटलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए ।

आन्तरिक तथा वाह्यपर्यटकलाई लक्षित गरि भुमहीमा सुविधा सम्पन्न होटल एटलस सन्चालनमा आएको होटल सन्चालक कृष्ण प्रसाद श्रेष्ठले बताए । होटलले यस वाहेक राष्ट्रिय तथा अन्तराष्ट्रि हवाइ टिकट, अन्तर देशिय तथा बाह्य टूर प्याकेज सहितको सुविधा उपलब्ध गराउने लक्ष्य लिएको श्रेष्ठले जानकारी दिए ।

एक बिघा क्षेत्रफलमा फैलिएको होटलमा बीसवटा वातानुकुलित कोठा छन् । विशेष पार्टी हलको समेत व्यवस्था गरिएको छ । पार्टी हल करिब २००० जनाको क्षमताको छ ।

होटलको उद्घाटन गर्दे उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशब प्रसाद भण्डारीले भुमही बिकासमा निकै अघि बढेको बताए । ठूलो लगानीका होटल ब्यवसाय सन्चालनमा आउनु यस क्षेत्रका आर्थिक सम्बृद्धि हुनेमा बिस्वास लिएको उनले बताए ।