देशका विभिन्न ठाउँमा यात्रुबहाक बस दूर्घटना

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यात्रु बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन्।

आज बिहान १०.३० बजे नवलपरासीको त्रिवेणीबाट काठमाडौँका लागि छुटेको लु १ ख ९४ ७६ नं को बस दुर्घटनामा परेको पूर्व नवलपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोला र दुम्किबास बीचको जङ्गलमा बस अनियन्त्रित भएर पल्टिएको थियो ।

उक्त दुर्घटनामा घाइते भएका ४२मध्ये ३७ जनाको मध्यविन्दु जिल्ला अस्पताल र पाँच जनाको दुम्किबासमा उपचार भइरहेको र घाइते सबै खतरामुक्त रहेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा आज बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो।

बा४ख ५७६२ नम्बरको बस किस्पाङ–१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौँ जाने क्रममा दुर्घटनामा परेको थियो। छतमासमेत यात्रु राखिएको उक्त बसको ब्रेक फेल भई दुर्घटना भएको बुुझिएको छ।