जनकपुर पुगेर निधिले भने- दुई तिहाइको सरकार बौलायो

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले दुई तिहाइको दम्भमा केपी ओली नेतृत्वको सरकार बौलाएको बताएका छन् । निधिले सरकारले कर्मचारीदेखि कलाकार, ब्यापारीदेखि किसानसम्मलाई सास्ति दिन थालेकाले बौलाएको प्रस्ट भएको बताए । उनले सरकार बौलाएकाले बेलैमा उपचार गर्नुपर्ने पनि बताए ।

नेपाल स्वास्थ्यकर्मी संघ प्रदेश २ को शपथग्रहण कार्यक्रमलाई सोमबार जनकपुरमा सम्बोधन गर्दै निधिले राजनीतिक आस्थाको आधारमा सरकारले कर्मचारीहरुलाई आतंकित पारिरहेको आरोप लगाए । उनले पञ्चायती सरकारको अहिलेको सरकारको जस्तै रवैया रहेकाले कर्मचारीले ध्वस्त पारेको इतिहास नभुल्न आग्रह गरेका छन् ।

उपसभापति निधिले केन्द्र र प्रदेश दुबै सरकारले राजनीतिक र वैचारिक आस्थाको आधारमा तर्साउने काम बन्द नगरे कर्मचारीहरु सडकमा ओर्लिन बाध्य हुन बताए ।

सरकारको भय र त्रासले नडराउन नहुने भन्दै उनले आफ्नो अधिकार क्षेत्रभित्र रहेर जनताको सेवामा तदारुकताका साथ खट्न कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

निधिले सरकारले आफ्नो एक वर्षे कार्यकालमा जनतालाई सास्ति दिने काम बाहेक अरु केही गर्न नसकेको आरोप लगाएका छन् । सरकारको यही प्रबृति कायम रहे कांग्रेस अब चुप लागेर नबस्ने उनले चेतावनी दिए ।