डोटीमा असुरक्षित गर्भपतन बढ्दो

डोटी । स्वास्थ्य क्षेत्रका सरोकारवालाले सुरक्षित गर्भपतन तथा सेवाका बारेमा आवश्यक जानकारी अभावमा असुरक्षित गर्भपतन गराउनेक्रम नरोकिएको बताएका छन् ।

गर्भपतनका बारेमा अझै समाजमा भ्रम विद्यमान रहेकाले महिला खुलेर सूचीकृत स्वास्थ्य संस्थामा आउन नसकेको उनीहरुको भनाइ छ । आइपास नेपालको सहयोगमा सामुदायिक विकास मञ्च नेपालले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको सुरक्षित गर्भपतनसम्बन्धी सञ्चारकर्मीसँगको अन्तक्रिया कार्यक्रममा सहभागीले सुरक्षित गर्भपतन तथा निःशुल्क सुरक्षित गर्भपतन सेवाका बारेमा समुदायस्तरसम्म जानकारी प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए ।

अझै पनि निजी मेडिकल तथा सूचीकृत नभएका स्वास्थ्य संस्थामा गर्भपतन गराउने र जोखिम बढेपछि मात्र अस्पतालमा उपचारका लागि आउने गरेको पाइएको छ । सुरक्षित गर्भपतन र सेवाका बारेमा समुदायस्तरमा जानकारी प्रवाह गर्नसके जोखिम न्यूनीकरण गर्न सकिने जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा भुषण मिश्रले बताए ।