उद्घाटनमा पूर्व–पश्चिम राजमार्ग समेत अवरुद्ध हुने गरी महाधिवेशनको तयारी

चितवन। नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन भोली शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ। अधिवेशन उद्घाटनका क्रममा पूर्वपश्चिम राजमार्ग समेत बन्द गरिने भएको छ । पूर्वपश्चिम र हेटौंडाबाट आउने र जाने सवारी अवरुद्ध गरिने स्थानीय प्रशासनले सूचना नै जारी गरेको छ।

महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा भीडभाड बढेको छ । एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेता चितवन आउने क्रम जारी छ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधि आजदेखि आउने क्रम सुरु हुनेछ। महाधिवेशन प्रतिनिधिका लागि सौराहामा शनिबारदेखि मात्रै बस्ने व्यवस्थापन मिलाइएको छ। महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदी किनारमा मञ्चको निर्माण कार्यले तीव्र गति लिइरहेको छ।

महाधिवेशनको लोगोमा अङ्कित गैँडाको मस्कट तयार गरिएको छ। मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टोलीले १० दिन लगाएर गैँडाको मस्कट तयार पारेको हो। चितवन एकसिङ्गे गैँडाका लागि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमाले चितवनका अध्यक्ष पार्वती रावलले जानकारी दिइन।