मन्त्री अधिकारीलगायतको निधनप्रति काँग्रेसद्वारा शोक व्यक्त

काठमाडौं । नेपाली काँङ्ग्रेसले ताप्लेजुङमा आज भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले शोक वक्तव्य जारी गर्दै विद्यार्थी जीवनदेखि सङ्घर्ष गरेर अघि बढेका मन्त्री अधिकारी नेपाली राजनीतिका उदीयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य भएको उल्लेख गरेका छन् ।

सभापति देउवाले मन्त्री अधिकारीको असामयिक निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उनको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल पर्यटन व्यवसायी गुमाएको छ भने यो दुःखद घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर के.सी. र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले अत्यन्तै दुःखी बनाएको उनको समवेदना सन्देशमा उल्लेख छ ।

दुर्घटनामा ज्यान गुमाएका सबैको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा शोक सहने शक्तिका लागि भगवानसँग प्रार्थना गर्दै दुर्घटनाको कारण पत्ता लगाउन सरकारसँग आग्रह गरेको छ ।

यसैबीच विवेकशील साझा पार्टीले हेलिकप्टर दुर्घटनामा परी पर्यटन तथा नागरिक उड्ययनमन्त्री अधिकारीसहित सात जनाको निधन भएको खबरले पार्टी स्तब्ध भएको जनाएको छ ।

मन्त्री अधिकारी लगायतको निधनप्रति विभिन्न व्यक्ति, पेशा, व्यसायी, राजनीतिकर्मीलगायतले गहिरो शोक व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा मन्त्री अधिकारीलगायतको निधनप्रति सबैले शोक व्यक्त गर्दै मृतकका आफन्तजनमा धैर्य गर्ने शक्तिका लागि कामना गरेका छन् । नेकपा नेता योगेश भट्टराईले भने मन्त्री अधिकारीको निधनप्रति आशंका जनाएका छन् ।