प्रेम र यौन मानिसलाई स्वस्थ बनाउने आधार हुन् : अनमोल

लीला अनमोल । सुदूर पूर्वमा उदाएको एक साहित्यिक नाम । अँह, यत्ति परिचयले मात्रै उनलाई उनको भूगोलले दिएको परिचयप्रति कञ्जुस्याइँ गरेको ठहर्ला । एक उर्जाशील अनि सँधै सक्रिय रहने सकारात्मक साेतसहितकी अभियन्ता हुन  लीला अनमोल । संचारकर्ममा पनि दिनरात नभनी खटिने लीलाको सामाजिक लिलामा पर्ने अर्को पाटो हो कुशल वक्ता र प्रस्तोता। महिला अधिकार लागि सिर्जनात्मक मात्र होइन भौतिक रुपमै पनि बुलन्द रूपमा प्रस्तुत हुनु उनको परिचय हो। अनमोलसँग अक्षरपाटी अनलाइनले गरेको संवादः

० कस्तो चल्दैछ जिन्दगानी ?

सामान्य छ, भर्खर कोरोना महामारीको समस्याबाट तंग्रँदैछ, सबै । दैनिकी चलायमान बन्दैछ, बिस्तारै । म पनि उर्जाशील लयमा हिँडने कोशिसमै छु।

० जीवनमा रोजेको बाटो नै हिँडदै हुनुहुन्छ कि, फरक पर्‍यो ?

पहिले कुरा त जीवन भनेकै नमिलेको चिज रहेछ। चाहेको सबै नपुग्ने र पाएकोले चित्त नबुझ्ने  । यस्तै असन्तुष्टिहरूले नै सायद जीवन चलायमान बन्दोरहेछ ।

० साहित्यमा कसरी मिसिनुभयो ?

खासमा त साहित्यसँग चैं मेरा अरू चिजहरू जोडिए।  मलाई नबुझ्ने बेलादेखि नै कविताको लयले छुन्थ्यो र मलाई नलेख्नु भनेको म नहुनु हो भन्ने महसूश  हुन्थ्यो। त्यसैले म लेखिरहेकी छु।

० यो साहित्य लेखनमा के छ त्यस्तो मजा ?

मेरो विचारमा कुनै पनि शब्दले साहित्य लेख्नुको मजालाई व्यक्त गर्न सक्तैन। न यो व्याख्या गर्न सकिने विषय हो जस्तो लाग्छ । तर प्रेम गर्नुको मजा जस्तो, गर्मीमा हावाको स्पर्शजस्तो, जाडोमा बिहानीपखको कलिलो घामको न्यानोजस्तो, आमाको काखामा बच्चाको आनंदीजस्तो, यस्तै मजाहरूको लहर जस्तै अर्को मजा हो साहित्य लेख्नु। तर साहित्यले चै यी माथिका आनन्दीहरुलाई पनि महसूश गरेर अर्को आनन्दी उमार्छ।

० के पाउनु भो, के गुमाउनु भो?

म कर्ममा विश्वास गर्छु। तसर्थ मैले गरेको कर्मको प्रतिफल आजसम्म मीठो पाएकी छु। गुमाउनु केही परेको छैन, अहिलेसम्म। जीवनमा सकारात्मक सोच्नेहरुले गुमाएका कुराहरुको वास्ता गर्दैनन्। हरेक पल म आगतलाई शुन्दर बनाउने कोसिस गर्छु।

यौन कुन्ठाले मानिसहरू दिनदिनै डिप्रेसनको शिकार भएका छन्। आफ्नै पाट्नरसँग असन्तुष्ट छन्। अनि लुकी लुकी उ तीं गतिविधिमा सम्लग्न हुँदै जान्छ र अन्त्यमा दुर्घटनाका समाचारहरू बाहिरिन्छन।

० तपाईँ त सामाजिक काममा पनि सक्रिय हुनुहुन्छ, घर, समाज र काममा तालमेल कसरी मिलाउनुहुन्छ ?

‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने उक्ति साचो लाग्छ मलाई। मभित्र यो समाज रुपान्तरणका निम्ति केही गरौं भन्ने भावना छ। त्यसैले असहजताहरूलाई शक्तिको रूपमा लिन्छु । म काम गर्ने उमरेकी मान्छे हुँ। जोश, जागर र योजना त यति छन् कि, थकान, निन्द्रा, भोक, प्यास कामपछिको दोस्रो प्राथमिकतामा पर्दछन्।

० आजसम्म पाएको ठूलो उपलब्धी के हो जस्तो लाग्छ?

समयले मलाइ गरेको विश्वास।

० नारीको स्थान नेपाली शृजनानामा काहाँनेर देख्नुहुन्छ?

सबैभन्दा उँचो देख्छु म त। किनकि यहाँ नारिकै व्याख्या गरेर कविताहरू लेखिए, गीतहरू गाइए, महाभारतकालीन कथाहरूदेखि यो युगसम्मको इतिहासलाई नियाल्ने हो भने नारी जाति शक्तिको ब्याख्यामा उच्च स्थानमै छन्। म हरेक सृजनाको सकरात्मक पाटोलाई ग्रहण गर्छु। महिला ले आफूलाई दर्बिलो बनाउने हो। आफ्नो चेतनाको अभिवृद्धि गर्ने हो। अरु बाँकी त विस्तारै मिल्दै जान्छ।

० नारीलाई दमित पात्र देखाएर धेरैले साहित्य शृजाना गर्छन्, विजेता किन बनाउँदैनन् ?

है है है, यो प्रश्न नै मेरे लागि चै उचित छैन। कसैले विजेता बनाउँदा बनिने र दमित पार्दा दमित हुने पनि हुन्छ । महिला आफैले महिलालाई विजेता बनाएर लेखे भैगो नि। किन रोइकराइ गर्नु ? आफू दह्रो भए सक्किगो नि । लेख्न महिलालाई पनि त उत्तिकै अधिकार छ नि। व्यवहारिक रूपमा यदि महिला बौद्धिक र परिपक्व बन्ने हो भने यस्ता काजोर पात्र बनाएर लेखिएका शृजनाहरू आफै हराउँदै जान्छन्।

० प्रेम र सेक्सको के सम्बन्ध छ ? तपाईँ कसरी लिनुहुन्छ ? 

यी दुई कुरा एक अर्काका परीपूरक हुन्। प्रेम जीवनलाई चलाएमान बनाउन र जिन्दगीको सौन्दर्य अनुभूत गर्न जरुरी छ, मानिस प्रेमबिना अपुरो छ । सेक्स शारीरिक आवस्यकता हो र अझ प्रेम र सेक्सलाई व्याख्या गर्दा प्रेमको चरमोत्कर्ष पनि हो सेक्स। एउटा स्वस्थ्य मानिसका लागि यी दुबै चिजको उत्तिकै महत्व छ। आवश्यकता छ।

प्रेमको हार्दिकता र शक्तिलाई यस्तो जाबो शब्दले कसरी व्याख्या गर्छ ? प्रेमको सौन्दर्यलाई बोध नगर्नेहरूले सायद यस्तै कसो कसो भन्छन् होला। अनि उत्पिडनको अंकुरण कसरी यौन हुन्छ ? उत्पिडनबाट यदि हुन्छ भने बिद्रोह हुँदो हो। कि त बलात्कार नै हुन्छ

० साहित्यको मूल प्रेम र जीवन मात्र हो कि अरू पनि छ ?

आफूले बाँचेको हरेक अवस्था नै साहित्य हो। जसभित्र यो समाजका यावत चित्रहरू अटेका हुन्छन् । बिकृति, विसङ्गति, उन्नति, प्रगति, सफलता असफलता, दुःख, सुख, राष्ट्रियता, राजनीतिक चेत, सीमाना, प्रेम, सद्भाव, यौन, कुन्ठा , बिद्रोह, आवेग, खुशी यो सबै चिजहरूको समिश्रण नै साहित्य हो।

० हाम्रो समाजमा आज पनि प्रेम र सेक्स किन बर्जित छ ?

अहँ, बिल्कुल बर्जित छैन । यसलाई भोग्ने र बुझ्ने तरिका फरक छ र बर्जित गरिएको महशुस हुँदो हो। मानिसले बाँचेको जीवन कुन पद्दतिबाट चलेको छ, त्यो महत्वपूर्ण कुरा हो। उसले टेकेको भूगोल र त्यसभित्र निर्माण भएको समाजको रेखाचित्र अनुरुप प्रेम र यौनका बारे व्याख्या भयो। हाम्रो नेपाली समाजमा चेतनाको कमी हुनु र प्रेम र यौनलाई एउटै कित्तामा राखेर बुझ्नुले समस्या उत्पन्न भएको हो। यहाँ आफ्नो मोबाइलको फोल्डरमा पोर्न भिडियोहरू राखेर एकान्तमा रमाउनेहरू प्रसस्त छन् । यौन कुन्ठाले मानिसहरू दिनदिनै डिप्रेसनको शिकार भएका छन्। आफ्नै पाट्नरसँग असन्तुष्ट छन्। अनि लुकी लुकी उ तीं गतिविधिमा सम्लग्न हुँदै जान्छ र अन्त्यमा दुर्घटनाका समाचारहरू बाहिरिन्छन्। यसकारण हाम्रो समाजमा यी चिजहरू बर्जित भएको महसूस भयो। तर खासमा भन्ने हो भने प्रेम र यौन मानिसलाई स्वस्थ बनाउने आधार हुन्।

० उत्पिडनको अंकुरण नै प्रेम र यौन हो भन्नेहरू पनि छन् नि, तपाईं के भन्नु हुन्छ ?

जसले यसो भन्छ त्यो मनोरोगी हो। जसले जीवनलाई बुझेकै छैन। प्रेमको हार्दिकता र शक्तिलाई यस्तो जाबो शब्दले कसरी व्याख्या गर्छ ? प्रेमको सौन्दर्यलाई बोध नगर्नेहरूले सायद यस्तै भन्छन् होला। अनि उत्पिडनको अंकुरण कसरी यौन हुन्छ ? उत्पिडनबाट यदि हुन्छ भने बिद्रोह हुँदो हो। कि त बलात्कार नै हुन्छ, बरु । तर प्रेम र यौन उत्पिडनकाे कारण चै हुँदैन।