भारतमा एकै दिन १ लाख ६० हजार कोरोना संक्रमित

एजेन्सी। भारतमा कोरोनाको तेस्रो लहर सुरु भएसँगै संक्रमित हुनेको संख्या ह्वात्तै बढेको छ। २४ घण्टामा १ लाख ५९ हजार ६३२ जना नयाँ संक्रमित थपिएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

यो अवधिमा ४० हजार ८६३ जना संक्रमण मुक्त भएका छन् भने ३२७ जनाको मृत्यु भएको छ। यो क्रममा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ३ हजार ६२३ पुगेको छ। हालसम्म भारतका २७ राज्यमा यो भेरियन्ट फैलिइसकेको छ।

आईआईटी कानपुरका प्राध्यापक मनिन्द्र अग्रवालले यसै महिनाको मध्यसम्ममा दिल्ली र मुम्बई जस्ता प्रमुख शहरमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढ्न सक्ने बताएका छन्। तेस्रो लहरमा दैनिक संक्रमितको संख्या दोस्रो लहरको भन्दा झण्डै दोब्बर अर्थात् ८ लाखसम्म पुगेको उनको अनुमान छ।