प्रिन्स दाहाल : जसले रचे विश्व इतिहास

काठमाडौं । ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिएका छन्।

विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका हुन्। उनको १० हजार पाँच सय अङ्क रहेको छ।

महासङ्घले जारी गरेको बरियताअनुसार जुनियरतर्फ दोस्रो बरियतामा मलेसियाका जस्टिन होह छन्। उनको नौ हजार पाँच सय ९० अङ्क छ। यस्तै मलेसियाकै फाजरिक मोहमद रजिफ ६ हजार नौ सय २५ अङ्कसहित तेस्रो स्थानमा छन्।

फ्रान्सका एलेक्स लानिर ६ हजार सात सय अङ्कका साथ चौथो तथा भारतका एस शङ्कर मुथुसामी सुब्रमन्यम छ हजार ३४० अङ्कसहित पाँचौँ स्थानमा छन्।

विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष खेलाडी बनेपछि दाहालले आफ्नो सपना पूरा भएको बताए। उनले आफू विश्वकै एक नम्बर खेलाडी बन्ने उद्देश्यका साथ खेल्दै आएको र त्यो पूरा हुँदा अत्यन्त खुसी लागेको बताए।

अबको ध्यान बरियतालाई कायमै राख्नतर्फ रहने भन्दै दाहालले भविष्यमा सिनियर ब्याडमिन्टन प्रतियोगितामा समेत प्रदर्शन राम्रो गर्दै जाने बताए।