दूतावासमा गुञ्जिए सुब्रमण्यम र कविता कृष्णमूर्ति

काठमाडौं । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंमा विश्व प्रख्यात भायोलिन वादक डा. एल. सुब्रमण्यम तथा प्रसिद्ध बलिउड गायिका कविता कृष्णमूर्तिको सांगीतिक प्रस्तुतिसहित परोपकारी सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । इन्डियन विमन्स एशोसियसन द्वारा आयोजित कार्यक्रम भारतीय राजदूतावासमा सम्पन्न भएको थियो ।

कार्यक्रममा राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यिक व्यक्तित्व, विद्यार्थी तथा सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रका १५ सयभन्दा बढी सहभागी थिए । नेपालका उपराष्ट्रपति नन्दबहादुरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा. एल. सुब्रमण्यम तथा गायिका कविता कृष्णमूर्तिको साथमा अतुल रनिङ्गा र फ्रिजो फ्रान्सिस (किबोर्ड), बसन्त कुल्कर्णी (ड्रम्स तथा परकुसन), अल्वेन फर्नाण्डेज (गितार), किथ पिटर्स (बेस गितार), तन्मोय बोस (तबला), पी.एन.एस. फाल्गुन (मृदंगम) र बिनय भिन्सेन्ट (साउण्ड इञ्जिनियर)लगायतले प्रस्तुती दिएका थिए ।

सांगीतिक क्षेत्रमा डा. एल. सुब्रमण्यम विश्व ख्याती प्राप्त भायोलिन बादकका रुपमा चिनिन्छन् । कविता कृष्णमूर्ति प्रख्यात बलिउड गायिकाको रुपमा परिचित छन् । उनले विभिन्न १६ भाषामा १८ हजार भन्दा बढी गीत रेकर्ड गराइसकेकी छिन् । आफ्नो आधुनिक तथा शास्त्रीय भायोलिन वादन तथा गायनद्वारा उनीहरुले दर्शक श्रोतालाई मन्त्रमुग्ध बनाएका थिए ।

परोपकारी सांगीतिक कार्यक्रम भारत र नेपालबीचको साझा सांगीतिक विरासतलाई प्रवर्धन गर्ने प्रयास भएको भारतीय दूतावासले जनाएको छ । सामाजिक तथा सांस्कृतिक कार्यक्रमार्पmत भारतीय तथा नेपाली समुदायबीच सद्भाव र मित्रता अभिवृद्धि गर्ने मञ्चको रुपमा आयोजक संस्थाले काम गर्दै आएको छ ।