भारतद्वारा २०० नेपाली विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न विश्वविद्यालय तथा कलेजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

स्नातक तहको अध्ययनलाई अघि बढाउन २०० जेहेन्दार नेपाली विद्यार्थीलाई शैक्षिकसत्र ०१८–०१९ का लागि स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको हो । यस वर्ष नेपालका ५० जिल्लाका विद्याथीले एमबिबिएस, बिडिएस, बिई, बिएससी, बिकमलगायत ३६ वटा स्नातक कोर्षका लागि छात्रवृत्ति पाउने दूतावासले जनाएको छ । छात्रवृत्ति पाउने विद्यार्थीमध्ये ४५ प्रतिशत छात्रा र ८ प्रतिशत अपाङ्ग छन् ।

होटेल हायात रिजेन्सीमा आयोजित स्वर्ण जयन्ति छात्रवृत्ति समारोहका प्रमुख अतिथि शिक्षा सचिव खगराज बरालले २०० विद्यार्थीलाई छात्रवृत्तिका लागि योग्यताको प्रमाणपत्र प्रदान गरेका हुन् । नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई बधाई दिँदै उनीहरुलाई व्यक्तिगत तथा व्यवसायिक सफलता हासिल गर्न सुभकामना दिए ।

सन् २००२ मा भारत सरकारले ‘भारत–नेपाल आर्थिक सहकार्य’को ५० वर्ष पुरा भएको अवसरमा स्वर्ण जयन्ति छात्रवृत्तिको सुरुवात गरेको थियो ।