‘विप्लव’का १० कार्यकर्ता गिरफ्तार

ओली सरकार नेकपा माओवादीप्रति असहिस्णु बन्दै

काठमाडौं । रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा मङ्गलबार साँझ ‘सर्च’मा गएको प्रहरी टोलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले मङ्गलबार साँझ साढे ६ बजे काफ्लडाँडामा प्रहरीसँग जम्काभेट हुँदा उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा उनीहरुबाट फायर भएको दावी गरे । आत्मरक्षाका लागि प्रहरीले चार राउण्ड फायर गरेको र फायरपछि समूह भाग्ने क्रममा झापाको मेची नगरपालिका–३ घर भई हाल काठमाडौँको थानकोट ढुङ्गेअड्डा बस्ने ३३ वर्षीय शिव धिताल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ नेवारटोलका ३३ वर्षीय विशाल तामाङलाई गिरफ्तार गरिएको आज जानकारी दिए ।

गत फागुन १० गते बेलुका ललितपुरको नक्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोट भई एकको मृत्यु तथा दुई जना घाइते भएको, सोही बेलुका काठमाडौं कमलपोखरीस्थित आँगन मिठाई पसलमा भएको बम विस्फोट तथा गत फागुन २४ गते बेलुका काठमाडौँको वसुन्धरामा रहेको रोहन गुरुङको घरमा भएको बम विस्फोटमा परी तीन जना घाइते भएको घटनाको अनुसन्धानका क्रममा विप्लव माओवादीको संलग्नता भएको देखिएपछि काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२ स्थित काफलडाँडामा लुकीछिपी बसेको सूचनाका आधारमा खोजतलासका क्रममा धिताल र तामाङलाई गिरफ्तार गरिएको महाशाखाले जनाएको छ ।

उता सरकारले अराजनीतिक समूह भन्दै प्रतिबन्ध लगाएको नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने जनाएसँगै कपिलवस्तुबाट पनि जिल्लास्तरका नेताहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीका अनुसार जिल्लाबाट चार जना नेतालाई नियन्त्रणमा लिएको बताए । पक्राउ हुनेमा जिल्ला नेतामा बाणगङ्गा नगरपालिका श्यमदास पासी र राजमङ्गल थारू रहेका छन् । शिवगढीबाट दुर्गालाल खत्री र कपिलवस्तुमा बसेर रुपन्देहीको राजनीति गर्ने युवराज न्यौपानले समेत पक्राउ परेका छन् ।

यी नेताहरुलाई सरदरमुकाम तौलिहवासहित राजमार्ग क्षेत्रका इलाकाहरुमा राखिएको बताइएको छ । पछिल्लो समयमा प्रहरी प्रशासनले छापा हान्ने र पक्राउ गर्ने क्रममा तीव्र बनाएसँगै नेकपा विप्लव समूहका बाहिर चिनिएका सबै नेता खुला रुपमा देखिन छाडेका छन् ।

यस्तै काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्रमा बम विस्फोट गराउँदै हिँड्ने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले दाङको तुल्सीपुरका नुमबहादुर विक, भोजपुरको टेम्केमैयाका डिकेन्द्र राई, झापाको मेची नगरपालिका–३ का शिव धिमाल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का विशाल तामाङलाई पक्राउ गरेको हो ।

उनीहरुले पनि एक जनााको मृत्यु र दुई जना घाइते हुने गरी गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोट गराएको प्रहरीको दावी छ । सोही समूहले गत फागुन २४ गते तीन जना घाइते हुने गरी काठमाडौँको वसुन्धराका रोहन गुरुङको घरमा बम विस्फोटन गराएको महाशाखाका निमित्त प्रमुख केदार ढकालले दावी गरे ।