अस्पतालमै जोखिम !

धनगढी ।  सेती अञ्चल अस्पतालमा गत सोमबार धनगढी–१२, जुगेडाकी २२ वर्षीया रेखा थापाको कोखबाट शल्यक्रिया गरी शिशु निकालियो। पहिलो सन्तानका रुपमा छोरा जन्मिएपछि आफन्तमा खुसी छायो। तर, त्यो खुसी धेरै दिन टिकेन। रेखाको बच्चा जन्माएको दुई दिनपछि मृत्यु भयो। शल्यक्रिया भएको दोस्रो दिन पेट सुन्निएपछि डाक्टरलाई सोध्दा ‘ग्यास्ट्रिक भएको हुन सक्छ’ भन्दै वास्ता नगरेको मृतकका आफन्तले बताएका छन्।

रेखाका पति जयबहादुर थापाका अनुसार पेट सुन्निन नरोकिएपछि डाक्टरले जन्डिस भयो भन्दै उपचार सुरु गरेको तर बिहीबार बिहान उपचार सम्भव नभएको भन्दै अन्यत्र रेफर गरेका थिए। कोहलपुर लैजाने क्रममा पत्नी रेखाको बाटोमै मृत्यु भएको उनले बताए।

अस्पतालको स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डाक्टर खगेन्द्रराज भट्टले सामान्य रुपमा बच्चा जन्माउन नसकेपछि रेखाको शल्यक्रिया गर्नुपरेको र स्वास्थ्यमा सुधार भइरहेका बेला एक्कासि बिहीबार समस्या आएपछि अन्यन्त्र रेफर गरेको बताए। ‘शल्यक्रिया गर्नेबेला पनि अरुको भन्दा धेरै बढी र फरक औषधि मगाएका थिए’, रेखाका पती थापाले भने, ‘अस्पतालको लापरबाहीले उनको ज्यान गयो।’ घटनाको छानबिन गर्न आफूले माग गरेको उनले बताए। बिरामी मर्नुमा अस्पताल र चिकित्सकको कुनै गल्ती नभएको बताउँदै सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। हेमराज पाण्डेले भने, ‘यस घटनामा अस्पतालको कुनै लापरबाही छैन।’आजको नागरिक दैनिकमा खबर छ ।