बंगबन्धुमा नेपालको पहिलो भेट ताजिकिस्तानसँग

काठमाडौं । यही असोज १५ देखि २६ गतेसम्म बंगलादेशमा हुने बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल ताजिकिस्तानसँग खेल्ने भएको छ ।

खेल तालिकाअनुसार समूह ‘ए’मा रहेको नेपालले पहिलो खेल असोज १६ गते ताजिकिस्तान र दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ ।

समूह ‘ए’मा नेपालसहित प्यालेस्टाइन र ताजिकिस्तान छन् । समूह ‘बी’मा आयोजक बंगलादेश, फिलिपिन्स र लाओस छन् ।

नेपाली खेलकुद टोली असोज १५ गते त्यसतर्फ प्रस्थान गर्नेछ ।

अघिल्लो संस्करणको विजेता नेपाल आइतबारसम्म प्रतियोगिता खेल्ने/नखेल्ने दोधारमा थियो ।

आइतबार अघिल्लो संस्करणमा विजेताबापतको पुरस्कार २५ हजार अमेरिकी डलर नेपालले पाएसँगै प्रतियोगितामा नेपालको सहभागिता निश्चित भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

एन्फाले पछिल्लो संस्करणको विजेताबापतको पैसा नपाए प्रतियोगिता नखेल्ने बंगलादेश फुटबल महासंघलाई जानकारी गराएपछि आइतबार बंगलादेश फुटबल संघले नेपाललाई दिनुपर्ने २५ हजार डलर उपलब्ध गराएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

‘हामीले दिएको समयसीमाभित्र बंगलादेश फुटबल महासंघले पैसा उपलब्ध गराएको छ । अब हामी प्रतियोगितामा सहभागिता जनाउँछौं’–उनले भने ।

सोही रकमबारे छलफल गर्न महासचिव तुलाधर अघिल्लो साता ढाका गएका थिए ।

नेपाल ३१ महिनाअघि बंगबन्धु गोल्डकपको चौथो संस्करणमा च्याम्पियन हुँदाको पाउन बाँकी २५ हजार अमेरिकी डलर पुरस्कार बंगलादेश फुटबल महासंघ (बीएफएफ)ले आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पठाएको हो भने २५ हजार त्यतिबेलै पाएको थियो ।