रक्तदान गरेसँगै खुलेको अनु र देविनाको मुस्कान

काठमाडौं – अनु वन्त भर्खरै १९ वर्षमा टेकिन् र शनिबार जीवनमै पहिलो पटक रक्तदान गरिन् । बनस्थली क्याम्पमा दिउँसो २ बजे भेटिएकी उनले भनिन्, ‘मलाई रक्तदान गर्न प्रेरणा दिने मेरी आमा सरस्वती वन्त हुनुहुन्छ । जसले १२ पटक रक्तदान गरिसक्नुभएको छ । अब म नियमित रक्तदान गर्छु ।’

५७ जनाले रक्तदान गरेको बनस्थली क्याम्पमा रक्तदान गर्नेमा देविना कार्की पनि थिइन् । जसले ४१ वर्षमा पहिलो पटक रक्तदान गरिन् । उनको शरीरमा दुर्लभ मानिने बी नेगेटिभ समूहको रहेछ । किन रक्तदान गर्नुभएको भन्ने प्रश्नमा उनले गीत सुन्न आग्रह गरिन् । ‘रक्तदान गरी गरौँ महादान, दानमा दान महादान…’ साउण्डबक्सबाट मधुर स्वरमा गीत गुञ्जिरहेको थियो ।

उता हेड्सका अध्यक्ष इश्वर बानियाँले रक्तदान गर्ने सबैलाई बधाई ज्ञापन गरेका छन् । रक्तदान जीवन दान भएको बताउँदै उनले रक्तादाताप्रति खुशी ब्यक्त गरे ।