कांग्रेस डडेल्धुराका निवर्तमान सभापति तथा प्रदेश सभा सदस्य कर्णबहादुर मल्ल पार्टीबाट निष्कासित

काठमाडौं। नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ।

मल्लले कांग्रेसको विधान २०१७ (संशोधन सहित) विपरित गतिविधि क्रियाकलाप गरेको भन्दै उनलाई कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेललेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

डडेल्धुरामा गठबन्धन दलबीच तालमेल हुन नसकेपछि मित्रवत प्रतिस्पर्धा गर्ने भएको छ। यहीबेला मल्लले नेपाली कांग्रेस वीपीबाट उम्मेदवार तय गर्दै स्थानीय तह चुनावमा डडेल्धुराका सात स्थानीय तहमा नेकपा एमालेसँग चुनावी गठबन्धन गरेका थिए।

मल्लले भने आफूले सात मध्ये एक पालिकामा पनि कांग्रेस संस्थापनले दिन नचाहेपछि एमालेसँग गठबन्धन गरेको बताइएको छ।

अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिका कांग्रेस विपीले तथा नेकपा एमालेले परशुराम नगरपालिका, आलीताल गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएको छ।