कैलालीका पालिकामा एउटै पदमा पार्टीका दुईको उम्मेदवारी

कैलाली। जिल्लाको लम्कीचुहा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस पार्टी र नेकपा (माओवादी केन्द्र)को तर्फबाट दुई, दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्।

पार्टीको पत्रसहित कांग्रेसका भक्तबहादुर थापा र सुशीला शाहीले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

माओवादी केन्द्रको तर्फबाट धीरेन्द्र रावल र लोकराज ढकालको उम्मेदवारी परेको निर्वाचन अधिकृत हिरालाल चौधरीले बताए।

“सोमबार ५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालय परिसमा उहाँहरू उम्मेदवारी दर्ता गराउन आउनुभएको रहेछ”, उनले भने, “अबेर राति उहाँहरुको उम्मेदवारी दर्ता भएको छ।”

एउटै पदमा पार्टीको पत्रसहित उम्मेदवारी दर्ता गराउने दुई, दुई उम्मेदवारका बारेमा सम्बन्धित पार्टीबाट पत्र आएपछि को आधिकारिक हो भन्ने एकिन हुने उनले बताए।

पार्टीको आधिकारिक उम्मेदवारले मात्र पार्टीको चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने कानुनी व्यवस्था छ।