एक विदेशी नारी : जो बनिन् दर्जनौ नेपालीकी आमा

मान्छेको भूमिका बदलिन धेरै ठूलो घटना हुनुपर्दैन । बाटो फेरिन निकै ठूलो घुम्ती चाहिँदैन । समयको लामो कालखण्ड आवश्यक हुँदैन । जिम्मेवारी र जीवन मोडिन त एक दृश्य नै काफी हुन्छ ।

बेलायती नागरिक लिसा व्हाइटहाउस फोस्केटको जीवनमा पनि त्यस्तै भयो । उनको भूमिका बदलिनुमा पनि कुनै ठूलो दुर्घटना भएको होइन । सानो दृश्य, बस एक सानो दृश्यले उनको मन फेरियो । त्यही दृश्यको रापले उनलाई जिम्मेवारीको ठूलो भारी बोक्ने प्रेरणा मिल्यो र प्रण गरिन् । धेरैलाई अपनत्व मात्र होइन, ममतामयी अभिभावकत्व दिन उनी दृढ बनिन् ।

‘मेरो जीवनमा एउटा कुरा मिराकलजस्तै छ’, लिसाले भनिन्, ‘खै किन हो किन, म सानैदेखि नेपाल र तिब्बत घुम्न चाहन्थेँ । मेरो मनमा कताकताबाट नेपाल र तिब्बत घुम्ने हुटहुटी थियो’, उनले सुनाइन्, ‘यो मेरो भित्रैदेखिको चाहनाबारे कैयौँपटक मैले सपनामा देखेकी थिएँ ।’
सोचेको भगवानले पनि पुर्याउँछ भनेजस्तै भयो लिसाको जीवनमा पनि ।

लिसाको नेपाल आगमन
कुरा आजभन्दा १७ वर्षअघि अर्थात सन २००४ तिरको हो । लिसा पहिलोपटक नेपाल भ्रमणमा आइन् । नेपाल आउने साइँत भने गोर्खा रेजिमेन्टमा जागिरे नेपाली साथीले जुराइदिए । उनले इङ्ल्याण्डकी युवतीसँग विवाह गरे । त्यही क्रममा लिसा र उनीहरुबीच गहिरो मित्रता भयो । सन २००३ मा भेटिएका गोर्खा रेजिमेन्टमा कार्यरत उनले लिसालाई नेपाल घुमाइदिने कुरा गरे ।

‘मेरो त सपना साकार हुनेभयो’, उनले नेपाल आएको प्रसंगबारे सुनाइन्,‘उनले साँच्चै मलाई नेपाल पठाइदिए, यहाँ उनैका आफन्तले एयरपोर्टमा रिसिभ गरे । आतिथ्य सत्कार पनि ।’

बेलायतको राजधानी लन्डनभन्दा दुई घन्टा पर बाथ भन्ने टाउनमा जन्मिएकी लिसा पेशाले अर्थोपेडिक सर्जन हुन । उनी अर्थोपेडिक र स्ट्रक्चरल सम्बन्धि समस्यामा माइनर सर्जरी गर्छिन । स्वास्थ्य क्षेत्रमा संलग्न भए पनि उनको मन कविकोजस्तै कोमल लाग्छ । अनि भावुक पनि ।

पहिलोपटक नेपाल टेकेकी लिसाको चाहना सोलुखुम्बु जाने थियो । तर तत्कालीन अवस्थामा माओवादी द्वन्द्वका कारण उनी त्यहाँ जान पाइनन् । उने आफ्नो यात्रा मोडिन् । अन्नपूर्ण क्षेत्रको ट्रेकिङका लागि काठमाडौंबाट निस्किन् । त्यहाँबाट लमजुङ र मनाङ पुगिन् ।

‘फर्किएर लमजुङ पुगेकी थिएँ त्यहाँको एउटा गाउँमा एक १३ वर्षीय किशोरले दौडँदै आएर मेरो हात समात्यो’, उनले सम्झिइन, ‘उसको स्पर्स निकै मायालु थियो । पर्फेक्ट अंग्रेजीमा कुरा गर्यो ।’ती किशोर लाई लिसाले सोधिन ‘के गर्न मन छ ?’

उनले भने, ‘मलाई काठमाडौं गएर पढ्न मन छ, अति धेरै पढेर गाउँमै फर्किएर शिक्षक बन्न मन छ ।’ तर सिलासँग त्यसबेला कुनै प्लान थिएन । तर तीं किशोरको नैसर्गिक चाहनाले उनको मनमा छोयो । नेपालको शिक्षामा हेल्प गर्नुपर्छ भन्ने कुराले मनमा ढ्कढक्यायो । मनाङबाट फर्र्र्किएपछि लिसा तिब्बतको लासा भ्रमणमा गइन् । पाँच दिन लगाएर उनी लासाको गायान्सी पुगिन् ।

‘त्यहाँ सिँढी नै सिँडी छन् । जहाँ हरेक सिँडीमा माग्नेहरू बसेका देखेँ’, उनले सम्झिन्,‘एउटा दृश्य यस्तो थियो, जसले मेरो मुटु हल्लाइदियो । एक पाँच, ६ वर्षको बालक पनि माग्न बसेका थिए । उनको काखमा सानो बहिनी पनि थिइन् । जो रुँदै मागिरहेका थिए । सानी बहिनी अवोध हेरिरहेकी थिइन् ।’

लमजुङको किशोरपछि यो दृश्यले उनलाई केही गर्न प्रेरणा मात्रै दिएन । उनको भूमिका फेरिने कारण बन्यो । बाटो मोडिने आधार तयार भयो ।

‘त्यसपछि त मैले केही गर्नुपर्छ भन्ने मनैबाट आयो । तर तिब्बतमा काम गर्ने मलाई अधिकार थिएन । तर नेपालमा पनि अवस्था त्यस्तै थियो’, उनले भनिन्, ‘अनि मैले सकेको सामाजिक काम गर्न नेपाल रोजेँ ।’

अनि जन्मियो फाउन्डेसन
लमजुङमा किशोरले गरेको वार्तालाप र लासाको गायान्सीमा देखेको दृश्य आँखाभरी सजाएर लिसा थाइल्याण्ड फर्किइन् । यीं दृश्यले उनको मन जति भारी भएको थियो, उत्ति नै केही गर्नुपर्छ भन्ने दबाबले उनको मन विचलित भइरह्यो ।

‘गायान्सीको दृश्य देखेपछि र लमजुङमा किशोरलाई भेटेपछि म च्यारिटी फन्डका लागि थाइल्याण्ड फर्किएँ । फन्ड जमा गर्न म्याराथन गरेँ’, उनले सुनाइन् ।

मनम अंकुरित भएको मानवीयता र ममताको बिउ रोप्न उनले लण्डनमा अभियान सुरु गरिन् । त्यसपछि उनले नयाँपाटी काठमाडौंकी आसाल श्रेष्ठलाई छोरीका रुपमा अभिभावकत्व दिन सुरु गरिन् । आसाल त उनको सुरुवात मात्रै थियो । लमजुङ र गायान्सीमा देखिएका बालबालिकाका कारण मनमा परेको चोट सान्त पार्ने त्यो पहिलो कदम थियो । आसाल यतिबेला हिमश्रृंखला विद्यालयमा कक्षा १० मा पढ्ने भइसकिन् । दुर्घटनामा बुवा गुमाएकी आसालकी आमा साइप्रसमा भए पनि उनलाई लिसाले पढाइलेखाइमा कुनै कमी हुन दिइनन् ।

यो एकल प्रयासलाई सन २००९ मा लिसाले संस्थागत रुप दिने जमर्को गरिन् । अनि जन्मियो नेपाली बालबालिकाको शिक्षाका लागि च्यारिटेबल फाउन्डेसन । योसँस्था दर्ता गर्दा उनले भोगेको दुःखको कथा अर्कै छ । यूकेमा दर्ता भएको यो संस्था नेपाली बालकालिकाको शिक्षाका लागि समर्पित छ ।

त्यसपछि उनले त्यहाँ विभिन्न सामाजिक अभियान चलाइन्, च्यारिटी गरिन्, म्याराथन आयोजना गरिन र केही रकम जमा गरिन् । ‘त्यसपछि मैले त्यो संस्थामार्फत स्कुल नै स्थापना गरेर सोलुखुम्बुमा ६० जना विद्यार्थी पढाउन थालेँ’, उनले सुनाइन्, ‘सोलुखुम्बुको भाटीखर्कमा नमोबुद्ध स्कुल छ । जहाँ अहिले सरकारले दरबन्दी दिएर चलिरहेको छ ।’

त्यो मात्र होइन लिसाले फाउन्डेसनमार्फत खोटाङका तीन विद्यालयमा पनि सहयोग गरिरहेकी छन्। किताब, कापी, कलम, फर्निचर, अन्य पठनपाठनका सामग्री त्यहाँका विद्यार्थीलाई नियमित रुपमा १० वर्षदेखि उपलब्ध गराउँदै आएको उनले सुनाइन् ।


भूकम्पले घर गुमेपछि पालमा आइपुगेकी काभ्रेकी बालिका विनिता तामाङका लागि उनले जमिन र घरको व्यवस्था गरिदिइन् । काठमाडौं चुचेपाटीमा रहेको गोल्डेन पिक हाइस्कुलमा लिसाले अपनत्व लिएका सात जना बालबालिका आवशीय रुपमा पढिरहेका छन् । उनीहरुको पठनपाठनको सबै जाहो फाउन्डेसनले गरिदिने गरको छ ।

लिसालाई आमा भनेर पुकार्ने संगीता परियार नर्सिङ पास गरेर यतिबेला दुबईमा छन् । त्यो मात्र होइन लिसाका नेपाली छोराछोरी इन्जिनियर, डाक्टर पढिरहेका छन् । उनले अपनत्व ग्रहण गरेका अर्का बालक हुन छिरिङ शेर्पा । जसलाई उनले १२, १३ वर्षको हुँदा अभिभावकत्व दिएकी थिइन । उनका बुवा कर्मा शेर्पा बुद्धिष्ट मंक हुन् । आमाले सानैमा छोडेर गएपछि पारिवारिक समस्यामा परेका छिरिङको सम्पूर्ण पढाइको भार ‘बेलाइती आमा’ लिसाले उठाइन् । हिँजोआज उनी काठमाडौं मेडिकल कलेजमा डाक्टरी पढिरहेका छन् । उनको भर्नादेखि पढाइ खर्च लिसाले नै व्यहोर्दै आएकी छन् ।

छिरिङजस्तै तेन्जिङ ज्याङबो आर्किटेक्ट पढिरहेका छन् । सोलुखुम्बुकी कमुनी शेर्पा कक्षा नौमा पढ्छिन् । ‘उनी त निकै स्मार्ट छिन । उनलाई देखेर निकै खुसी लाग्छ’, लिसा हँसिलो अनुहार बनाउँदै भन्छिन्, ‘सिर्जना दोङ पनि मेरै छोरी हुन् । उनी यतिबेला गोल्डेनपिकबाट एसएलसी गरेर नेस्नल मल्टिपल कलेजमा ल्याब अध्यन गरिरहेकी छिन ।’ विद्यालयमै सहयोग गरेर पढाइरहेका बाहेर नेपालमा लिसाका ६ देखि २४ वर्ष उमेरका २८ जना छोराछोरी छन् ।

आमाभन्दा अगाध खुशी
समुद्र पारीकी एक नारी । एक आमा । यति टाढाको देशमा छोराछोरी पढाएर उनले के पाइन ?
‘नेपाल मेरो रहरको देश थियो । म नेपाल घुम्नका लागि आतुर थिएँ’, लिसाले भनिन्, ‘भाग्यले जब म नेपाल आएँ निकै खुशी थिएँ । तर पहिलोपटक फर्किएर जाँदा मन निकै भारी भयो ।’

त्यही भारी मन हलुको पार्न होस् वा सन्तानप्रतिको माया पूर्ति गर्न होस उनले नेपालमा बालबालिकालाई पढाउने प्रण गरिन् ।

‘आज जब म नेपाल आउँछु, मलाई धेरैले आमा नै भन्छन्, त्यतिबेलाजस्तो गहिरो आनन्द संसारको अर्को कुनै खुशीले अनुभूति हुँदैन’, लीसा प्रफुल्ति भएर सुनाइन् । उनले पढाइरहेका कसैका आमा, कसैका बुवा हुँदाहुँदै पनि जब उनलाई आमा भन्छन् त्यतिबेला लिसालाई निकै खुशी लाग्छ । संसारको कुनै सम्पत्तिले किनेर नपाइने आनन्द पाएझैँ हुन्छ । उनीहरु सफल हुँदा आफूले ठूलै कुरा पाएको महसुस हुन्छ । उनीहरुको अभिभावक म नै हुँ भन्ने कर्तव्यवोध गराउँछ ।

उनी हरेक वर्ष नेपाल आउने जाने गर्छिन । ‘कोभिडको समयमा आउन सकिन्’, उनले भनिन्, ‘तर पनि मेरो अभिभावकत्व, मेरो जिम्मेवारी मैले विभिन्न साथीभाइसँग सहयोग मागेर पनि पुरा गरेँ ।’

रुची अनेक
लिसा व्हाइटहाउस फोस्केटले नेपालको सुन्दरता, यहाँको प्राकृतिक र साँस्कृतिक रहस्य, हिमाल, हिन्दूत्व, बुद्धिजमबारे सुनेकी थिएँ । ‘त्यसैले होला मैले नेपाललाई मैले मेरो डेस्टिनी बनाएको’, संगीत र नृत्यमा पनि रुची भएकी लिसाले भनिन्, ‘घुम्न मलाई निकै मन पर्छ, मेरो प्यासन हो ।’

उसो त उनी लण्डनबाहेक अन्य देश धेरै घुमिन् । धेरै भ्रमण गरिन् । तर उनले नेपालमा नै किन सहयोगको हात अघि बढाइन् त ? ‘त्यहाँ राज्य छ, सिस्टम छ । बालबालिकाको शिक्षा, बृद्धबृद्धको स्वास्थ्य राज्यले हेर्छ, सरकारको सिस्टमले यस्तो अवस्था आउन दिँदैन । तर यहाँ हेल्पलेस देखेँ । अनि हेल्प गर्दै जाँदा तमामौँ छोराछोरी बनाएँ ।’

लिसाका श्रीमान पिटर पेशाले लण्डनमा नाम चलेका वकिल हुन । उनी वकालत गर्छन । तर लिसाको यो अभियानमा उनको पनि समर्थन मात्र होइन साथ छ । उनका साथीभाइ, आफन्तले सहयोग जुटाउने क्रममा नेपालबारे सोध्छन् ।

‘म सबै सुन्दरताको कुरा गर्छु । यहाँको सँस्कृति र समाजको कुरा गर्छु’, उनले भनिन् । लिसालाई साँच्चैमा नेपालको चाडबाड मनाउने संस्कार निकै मन पर्छ । दसैँतिहारमा नेपाली एक ठाउँमा जमा हुने, आत्मीय साँटासाँट गर्ने कुरा दुनियामा कमै हुने गरेको उनले सुनाइन् ।

कोभिडले पीडा
कोभिडको बेला भने लिसा निकै चिन्तित भइन् । विश्व नै जरजर भएको बेला उनले पनि धेरै पाइला खुम्च्याएर बस्नुपर्यो । भनिन्, ‘कोभिडले हामीलाई पनि निकै गाह्रो बनायो, कैयौँ रात म सुतिन, नेपालका छोराछोरीलाई कसरी सहयोग निरन्तर राख्ने भन्ने चिन्ताले निकै पिरोलेको थियो तर सबै ठिकठाक भइदियो ।’

तर अहिले पनि लिसालाई कहिले काँही निद्रा लाग्दैन । उनीहरुको भविश्य सम्झेर । भन्छिन्, ‘म पनि त आमा हुँ, मैले उनीहरुको भविश्यका बारेमा चिन्ता लिनैपर्छ ।’ उनी हेल्थ वर्किङ ग्रुपकी अध्यक्ष पनि हुन् । निकै बिजी रहन्छिन् । तर पनि नेपालका बच्चाहरुमा देखिने खुसीले आफूलाई उर्जा दिने गरेको उनी सुनाउँछिन् ।

प्रगतिका लागि युवा बदलिन जरुरी
नेपालमा लिसाले निकै नरुचाएको कुरा हो घुष । यहाँ प्राय सबै ठाउँमा घुष र भ्रष्टाचार मौलाएकोप्रति उनी चिन्तित छन् । यसरी कहिल्यै मुलुक बन्दैन । यो प्रगतिको शत्रु हो भन्ने उनको बुझाइ छ ।

‘हामी कहिल्यै कुनै कामका लागि पनि घुस दिँदैनौँ । बरु कुनै काम नभए नहोस’, उनले भनिन्, ‘तर नेपालको अवस्था १७, १८ वर्ष अघि म आउँदा जस्तो थियो आज पनि त्यस्तै होइन झन बिग्रिएको छ । मैले स्कुलको अनुमति लिन खोज्दा पनि घुस मागियो । मैले दिँदै दिइन । पछि एक जना असल मानिसले त्यो काम गराए ।’

नेपालीले परिवर्तन चाहिरहे पनि त्यसको ठूलो वाधक घुस बनिरहेको उनको बुझाइ छ । नागरिक नै घुस दिन तयार भएसम्म यो सुधारिने आशा गर्न नसकिने उनी बताउँछिन् ।
आम नेपालीजस्तै उनलाई पनि युवा उमेरको मानिस राजनीतिमा आएपछि परिवर्तन हुन्छ भन्ने लागेको थियो, तर नेपाली राजनीतिमा युवालाई नै परिवर्तन गराइदिने वा टिक्नै नदिने परिपाटी निकै डरलाग्दो भएको उनले महसुस गरेकी छन् । उनी आग्रह गर्छिन, ‘यहाँका युवाले यहाँको सिस्टमसँग निकै संघर्ष गर्नु जरुरी छ ।’ उनलाई डर छ यहाँको सरकार बदलिन चाहँदैन भने विदेशीले सँधै सहयोग नगर्नसक्छ । भन्छिन्, ‘गलतकाबिरुद्ध यहाँको एक एक व्यक्ति उभिनसक्नुपर्छ, उभिनैपर्छ ।’

(पत्रकार शिवराज योगीले लेखेको यो आलेख हामीले युवामञ्च मासिकबाट सापटी लिएका हौँ)