तेह्रथुम ‘ढाकाको राजधानी’

तेह्रथुम। तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो। यसअघि पाल्पालाई २०७८ साल चैत १२ मै ढाकाको राजधानी घोषण गरिएको थियो।

विशेषतः लिम्बू समुदायले अत्यधिक मात्रामा उत्पादन गर्ने ढाका पछिल्लो समय जिल्लाको आम्दानीको एक मुख्य स्रोत रहेको थियो।

‘तेह्रथुमे ढाका’को नामले यहाँ उत्पादित ढाका कपडाले बजारसमेत लिइरहेको थियो । ढाका उत्पादनलाई बढाइ उद्योगका रूपमा विकसित गर्दै लैजान, ढाका कपडा बुन्ने सीप र कलालाई प्रचार–प्रसार गर्न, व्यावसायीकरण र विविधिकरण गर्न तथा तेह्रथुमको ढाकाको विशेष पहिचान स्थापित गर्न जिल्लालाई ढाकाको राजधानी घोषणा गरिएको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले तेह्रथुमलाई ढाका कपडा राजधानीको जिल्ला घोषणा गरे।

म्याङलुङमा स्थानीय खानाका परिकार, स्थानीय सांस्कृतिक झाँकीसहितको घोषणा कार्यक्रम सम्पन्न भएको हो।

ढाकाबाट यहाँका हजारौँ महिलाले रोजगारी पाएका छन्। जिल्लामा ढाकाका सामग्री उत्पादन गर्ने कार्यले उद्योगको रूप ग्रहण गर्न थालेको छ।

हातले बनाइएका तेह्रथुमे ढाका आकर्षक र गुणस्तरीय मानिन्छन्। मेसिन प्रयोग नगरी हातले बनाएकाले तेह्रथुमे ढाकाको मूल्य अन्यत्रको तुलनामा केही बढी रहेको भए पनि ती सामग्री टिकाउ र गुणस्तरीय रहेको ढाका उत्पादकहरूको दाबी छ।